तरलता छेलोखेलो हुँदा पनि आधा दर्जन बैंकको सीसीडी रेसियो टाइट, पुस मसान्तमा कस्को कति ?



काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) छेलोखेलो हुँदा पनि आधा दर्जन बैंकको कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) निकै टाइट देखिएको छ ।

राष्ट्र बैंकका अनुसार ०७७ पुस मसान्तमा बैंकिङ प्रणालीमा १ खर्ब ३० अर्ब रुपैयाँ अधिक तरलता थियो ।

कोरोना कहरका कारण राष्ट्र बैंकले सीसीडी रेसियो ८५ प्रतिशत पुर्याउँदा पनि हुने व्यवस्था गरेका कारण सीसीडी टाइट हुने बैंकलाई व्यवसाय विस्तारमा केही सहज भएको हो । होइन भने ८० प्रतिशतमाथि सीसीडी रेसियो पुर्याउने वित्तिकै राष्ट्र बैंकले कारबाही गरिहाल्थ्यो ।

‘कोरोनाका कारण प्रभावित बैंकिङ क्षेत्रलाई हामीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सीसीडीमा केही सहुलियत दिएका हौं,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले क्लिकमाण्डूसँग भने ।

०७७ पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत सीसीडी रेसियो ७४.३१ प्रतिशत छ । तर, सानिमा, मेगा, प्राइम, एनएमबि र बैंक अफ काठमाण्डूको सीसीडी रेसियो ८० प्रतिशतभन्दा धेरै छ ।

सानिमाको ८२.५, मेगाको ८२.८९, एनएमबिको ८१.९७, प्राइमको ८१.३९ र बैंक अफ काठमाण्डूको ८०.११ प्रतिशत सीसीडी रेसियो छ । मसान्तमा बैंकहरुबाट मोटो रकम बाहिरिएपछि सीसीडी रेसियो टाइट भएको हो ।

बैंकर्स संघको तथ्यांकअनुसार ४ वटा वाणिज्य बैंकको सीसीडी रेसियोमात्रै ७० प्रतिशतभन्दा कम छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६२.२१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६६.७१ प्रतिशत, प्रभु बैंकको ६६.७७ प्रतिशत छ । अन्य १८ बैंकको सीसीडी रेसियो ७० देखि ८० प्रतिशतको बीचमा छ ।

सीसीडी रेसियो धेरै भएका बैंकहरुले निक्षेप बढाउन सकेनन् भने थप कर्जा बढाउन सक्दैनन् । त्यसैले सीसीडी रेसियो टाइट भन्दा अलि कम भएको नै राम्रो मानिन्छ ।

तर, बैंकरहरुले भने कोरोना कहरको समयमा सीसीडी रेसियो नै खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

S.n Bank CCD
For the month of Poush
1 ADBNL 73.06
2 BOK 80.11
3 CENTURY 71.91
4 CITIZEN 74.03
5 CIVIL 75.63
6 EBL 70.16
7 GLOBAL 74.57
8 HBL 71.17
9 KUMARI 76.15
10 LAXMI 72.42
11 MBL 78.66
12 MEGA 82.89
13 NABIL 77.51
14 NBBL 71.28
15 NBL 69.21
16 NCC 72.35
17 NIBL 74.07
18 NIC 74.73
19 NMB 81.97
20 NSBL 70.89
21 PRABHU 66.77
22 PRIME 81.39
23 RBB 66.71
24 SANIMA 82.5
25 SBL 76.81
26 SCBNL 62.21
27 SUNRISE 77.21
Industry Total/Avg 74.31


पुष्प दुलाल