६१ प्रतिशतले बढ्यो चाउचाउ निर्यात, भारतले किन्यो ६३ करोडको
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को ५ महिनामा चाउचाउको निर्यात बढेको छ । आव २०७६/७७ को तुलनामा चालु आवमा ६१.७५ प्रतिशतले चाउचाउ निर्यात बढेको हो ।
कोरोना महामाीले गर्दा उद्योगहरू निकै प्रभावित भएता पनि आव २०७६/७७ को ५ महिनामा उल्लेखनीय निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।
गत वर्ष नेपालले ५० करोड ३७ लाख मूल्य बराबरको ३४ लाख ५० हजार केजी चाउचाउ विभिन्न ११ देशमा निर्यात गरेको थियो ।
त्यस्तै, चालु आवमा नेपालले ८१ करोड ५७ लाख रुपैयाँ मूल्य बराबरको ५५ लाख १९ हजार केजी चाउचाउ विभिन्न १२ देशमा निर्यात गरेको छ । जुन गत वर्षको तुलनामा ३१ करोड रुपैयाँले बढी हो ।
७७ प्रतिशत हिस्सा भारतको
वस्तु तथा सेवाको आयात निर्यातमा ठूलो योगदान पुर्याउँदै आएको छिमेकी राष्ट्र भारतले चाउचाउ पनि उल्लेखनीय निर्यात गरेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको पाँच महिनाको तथ्याङ्क अनुसार नेपालबाट निर्यात गरेको टप २० को सूचिमा ११ नम्बरमा चाउचाउ रहेको छ । त्यस्तै, भारततर्फ निकासी भएको उत्कृष्ट ५० वस्तु तथा सेवाको निर्यातमा भने २५औं स्थानमा चाउचाउ रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ को ५ महिनाको अवधिमा नेपालले भारततर्फ ३७ लाख २४ हजार मूल्य बराबरको २९ लाख २९ हजार केजी चाउचाउ निर्यात गरेको थियो ।
त्यस्तै, चालु आवको सोही अवधिमा भारततर्फ ६३ करोड ७ लाख मूल्य बराबरको ४७ लाख ९८ हजार केजी निर्यात गरेको छ । जुन गत वर्षको तुलनामा ६८.९ प्रतिशतले बढी हो ।
नेपालले भारत, अष्ट्रेलिया, क्यानाडा, जापान, अमेरिका, मलेशिया, बेलायत, हङकङलगायत अन्य विभिन्न देशमा चाउचाउ निर्यात गर्दै आएको छ ।
उक्त निर्यात गरेको देशमध्येमा भारतले मात्रै ७७.३२ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै, भारत पछिको चाउचाउ निर्यात भएको देश हो अष्ट्रेलिया ।
अष्ट्रेलियामा चालु आवको पाँच महिनाको अवधिमा ५ करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख २३ हजार केजी चाउचाउ निर्यात भएको छ । जुन निर्यात भएको चाउचाउको शतप्रतिशतको ७.२० प्रतिशत हिस्सा हो ।
त्यस्तै, तेस्रोमा अमेरिका छ । अमेरिकामा चालु आवमा ५ करोड ४५ लाख २१ हजार मूल्य बराबरको २ लाख ५४ हजार केजी चाउचाउ निर्यात भएको छ । जसमा अमेरिकाले ६.६८ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसैगरी, मलेशियामा चालु आवको पाँच महिनामा ३ करोड १४ लाख मूल्य बराबरको ६० हजार केजी चाउचाउ निर्यात भएको छ । मलेशियाको चाउचाउ निर्यातको ३.८५ प्रतिशत हिस्स ओगटेको छ ।
अन्य देशमा जापानमा २.१७ प्रतिशत, यूरोपेली मुलुक बेलायतमा ०.९ प्रतिशत, क्यानाडामा ०.७ प्रतिशत र हङकङमा ०.५ प्रतिशतले चाउचाउ निर्यात भएको छ ।