नेकपाको द्वन्द्वले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रवृत्ति निन्दनीयः प्रवक्ता शर्मा



aकाठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिसलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

यो कदम संविधानको अक्षर, मर्म र भावना विपरीत भएको भन्दै कांग्रेसले यसलाई राजनैतिक रूपमा गम्भीर रुपले प्रतिवाद गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टी भित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय भएको उल्लेख छ ।

‘जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द आफैमा लज्जास्पद थियो र छ । विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा हामीले लिएका छौं र उद्घोष गर्दछौं यो प्रयत्नलाई असफल तुल्याइने छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपतिलाई अपील गर्दै कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका नेता, कार्यकर्ता सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी जनतचालाई अपील गरेको छ ।

यस विषयमा पार्टीले लिने आवश्यक कदम र थप धारणा बारे आजै १ बजे उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको छ ।


क्लिकमान्डु