काठमाडौंमा सवारी साधनमा जोरबिजोर प्रणाली हट्ने



काठमाडौं उपत्यकामा लागू भएको जोरबिजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोलिबाट जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधान सञ्चालनमा आएपनि जोरबिजोर प्रणाली कायम गरिएको थियो । जोरबिजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गएपनि खुला गरिने भएको हो ।

सवारी साधनमा देखिएको यात्रुहरुको चापको अवस्थालाई मध्यनजर गर्दै जोरबिजोर प्रणाली हटाउने निर्णय भएको उनको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणाली लागू हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताए ।

उनले यातायात मजदुर र यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।

कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । जोर विजोर प्रणाली हटेपछि सार्वजनिक सवारीमा देखिएको चाप कम हुने विश्वास गरिएको छ ।


क्लिकमान्डु