काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय खोल्न नदिने, अनलाइन कक्षामा जोड



काठमाडौँ । कोभिड-१९ का कारण बन्द रहेका बन्द रहेका विद्यालय काठमाडौँ महानगरपालिकाले तत्काल खुल्न नदिने भएको छ ।

काठमाडौँ महानगरपालिका शिक्षा विभागले जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँगको छलफलपछि महानगरपालिकाले विद्यालय खोल्न नदिने निर्णय गरेको हो ।

काठमाडौँमा कोरोना नियन्त्रणमा आइनसकेकोले अहिले ने विद्यालय खोल्न नहुने सरोकारवाला निकायले बताए । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अहिले जाडोको समय भएकोले यस्तो बेलामा अनलाइन कक्षालाई प्राथमिकता दिएर केही समयपछि नै खोल्दा राम्रो हुने बताए । ‘अहिले जाडो मौसम छ, यो समयमा विदा पनि हुन्छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिना भित्रमा ५० हजारको ‘एन्टीजेन टेष्ट’ गर्ने भनेको छ । यो बीचको अवधीमा अनलाइन कक्षालाई प्रभावकारी बनाउँ ।’

उनले बालबालिकाले स्वास्थ्य मापदण्ड आफै पालना गर्न समस्या हुने भन्दै एउटै मापदण्ड बनाउने र खोलेका विद्यालयको पनि अनुगमन गर्ने, स्वास्थ्य मापदण्ड पुरा नभएको भए बन्द गर्नेसम्मको तयारीमा जानुपर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्रालयमा महानिर्देशक महेन्द्रमान श्रेष्ठले स्वास्थ्य मन्त्रालयले पुस महिनामै करीब ५० हजारको एन्टीजेन टेष्ट गर्ने तयारी गरेको भन्दै त्यसको अवस्था हेरेर मात्रै अघि बढ्न सुझाव दिए ।

काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले काठमाडौँका ११ मध्ये ९ वडा स्थानीय तहले विद्यालय सञ्चालन गरेको भन्दै विद्यालय सञ्चालन गरेकैले कोभिड फैलिएको देखिए पनि सरोकारवालसँग छलफल गरेर मात्रै अघि बढ्दा राम्रो हुने धारणा राखे ।

काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाल निकायसँग छलफल गरिरहेको जानकारी गराए ।

‘आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलले पनि तत्काल जोखिम नघटेकाले विद्यालय सञ्चालन गर्न हतार गर्नु नहुने सुझाव दिएको छ,’ उनले भने, ‘यो विचमा हामी निरन्तर छलफलमा रहन्छौँ । तयारी पनि अघि बढाइ रहन्छौँ । त्यसपछि अवस्था हेरेर मात्रै विद्यालय खुला गर्छौ । अहिले तत्काल चाँहि खुल्ने अवस्था रहेन ।’


क्लिकमान्डु