कोरोना बीमाको दावी भुक्तानीको दायित्व अब एकलौटी नेपाल पुनर्बीमा कम्पनीमा



काठमाडौं । कोरोना बीमा दावी भुक्तानीको दोस्रो चरणमा पुगेको छ । हालसम्म बीमा पुलमा रहेको दावी भुक्तानीको दायित्व अब नेपाल पुनर्बीमा कम्पनीमा आएको हो ।

बीमा समितिले गत बैशाख ७ गतेदेखि निर्जीवन बीमा कम्पनीमार्फत् शुरु गरेको कोरोना बीमा लेख बीमा पुल अन्तर्गत दावी भुक्तानी गर्ने सम्झौता सहित शुरु भएको थियो ।

जसअनुसार २० प्रतिशत पुनर्बीमा कम्पनीले र ८० प्रतिशत २० वटा बीमा कम्पनीहरुले ४÷४ प्रतिशत गरेर दावी भुक्तानी गर्नुपर्ने थियो । तर कोरोना संक्रमितको संख्या बढेसँगै यसको दायित्वको मोडालिटी पनि परिवर्तन गरिएको थियो ।

समिति, नेपाल बीमक संघ र सरोकारवाला निकायहरुले छलफल गरीे कोरोना बीमा दावी भुक्तानीको नयाँ मोटालिटी तयार गरी समितिले लागू गरिसकेको छ ।

उक्त मोडालिटी अनुसार पहिलो १ अर्ब रुपैयाँसम्मको दावी भुक्तानी पूलअन्तर्गत गर्नुपर्नेछ । जुन हालसम्मको कुल दावी रकम पुलको दावी दायित्वभन्दा बाहिर पुगेको छ ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांक अनुसार कात्तिक १ गतेसम्म कोरोना बीमामा १ अर्ब १ करोड ५८ लाख रुपैयाँभन्दा बढी दावी परिसकेको छ ।

हालसम्मको दावी दायित्वमा २० प्रतिशतसम्ममात्र हिस्सा रहेको पुनर्बीमा कम्पनीले अब नयाँ मोडालिटी अनुसार शतप्रतिशत दावी भुक्तानीको दायित्व लिनुपर्ने भएको छ ।

कोरोना बीमा दावी भुक्तानीको नयाँ मोडालिटी अनुसार पुनर्बीमाले दावीको १ अर्ब नाघेपछि २ अर्ब रुपैयाँसम्मको दावी भुक्तानी गर्नुपर्ने छ ।

‘पछिल्लो पटक गरिएको सम्झौता अनुसार अब कम्पनीहरुमा पर्ने दावी भुक्तानीमा १ अर्ब रुपैयाँ पुनर्बीमा कम्पनीले गर्नेछ,’ नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंखर रायमाझीले भने ।

‘अहिलेसम्मको दायित्वमा हाम्रो हिस्सामा परको दावी दायित्वको रकम र अब १ अर्ब रुपैयाँसम्मको दावी शतप्रतिशतसम्म गर्नु अर्ब रुपैयाँ नेपाल रि इन्स्योरेन्सले गर्छ,’ रायमाझीले क्लिकमाण्डूसँग भने, ‘बीमितले कम्पनीमा नै दावी गर्छ र कम्पनीले पुलमा दावी विवरण पठाएपछि बीमा समितिले त्यसको उचित अनुचित हेरी नेपाल रि–इन्स्योरेन्समा पठाउँछ ।’

बीमा समितिले सिफारिस गरेको भुक्तानी योग्य कोरोना दावीको नेपाल पुनर्बीमाले अब १ लाख रुपैयाँसम्म शतप्रतिशत नै गर्ने उनले बताए ।

नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब रुपैयाँसम्मको दावी भुक्तानी दायित्वपछिको ५० करोड रुपैयाँको दावी बीमा कम्पनीहरुले आफ्नो महाविपत्ती कोषबाट बहन गर्नुपर्ने हुन्छ ।

साथै, सोपछिको २ अर्ब ५ करोड रुपैयाँमाथिको दावी भुक्तानी दायित्व बीमा समितिले दायित्व लिनेछ, भने सो भन्दामाथि परेको दावीको दायित्व सरकारले बहन पछिल्लो सम्झौताले प्रष्ट पारेको छ ।

कोरोना बीमामा परेको दावी सोही बीमा लेख बिक्री गरी संकलन गरिएको प्रिमियमबाटै भुक्तानी हुने प्रमुख कायृकारी अधिकृत रायमाझीले बताए ।

‘प्रिमियमबाट पुग्नेसम्म दावीको भुक्तानी त्यहीबाट हुन्छ, प्रिमियमभन्दा बढी भएको रकम भने नयाँ बाँडफाँट भएको दावीको दायित्व अनुसार नै सबै मिलेर भुक्तानी गनुपर्ने हुन्छ,’ सीइओ रायमाझीले थपे ।

हालसम्म बीमा कम्पनीहरुले कोरोना बीमा लेख बिक्री गरी ८७ करोड ४९ लाख रुपैयाँ मात्र प्रिमियम संकलन गरेको छन् । जुन हालसम्म परेको कुल दावीभन्दा १४ करोड ८ लाख रुपैयाँ बढी हो ।

समितिद्वारा उपलब्ध तथ्यांक अनुसार हालसम्म बीमा कम्पनीहरुमा १० हजार ५ सय ६७ जनाले १ अर्ब १ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको दावी गरिसकेका छन् । जसमध्ये हालसम्म दावी भुक्तानी भने १ हजार २०६ जानको ११ करोड ४४ लाख ५० हजार रुपैयाँमात्रै भुक्तानी भएको छ ।

कम्पनीहरुमा परेको कुल दावीमध्ये हालसम्म ९ हजार ३६२ जनाको ९० करोड १४ लाख रुपैयाँ बक्यौता छ ।


क्लिकमान्डु