अब मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था



काठमाडौं । नेपालीहरुले अब मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरुमार्फत् रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको हो ।

हालसम्म बैंक खातामा वा रेमिटेन्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन पाइने व्यवस्था थियो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक परिपत्र जारी गर्दै विदेशमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाटै नेपालमा पैसा पठाउन पाउने व्यवस्था गरेको छ । जसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुले विदेशमा काम गरिरहेका नेपालीहरु कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्थासँग आवद्ध हुनु पर्नेछ ।

सोपछि राष्ट्र बैंकको विप्रेषण विनियामावली २०७६ को साविकका व्यवस्था अतिरिक्त तोकिएको सर्त र सीमा सहित सम्झौता गरी डिजिटल्ली नेपालमा रकम भित्र्याउन सक्ने केन्द्रीय बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले बताए ।

‘अब विदेशीमा रहेका नेपालीले नेपालमा पैसा पठाउँदा आफन्तले घरमै बसी बसी मोबाइल वालेटमार्फत् प्राप्त गर्न सक्छन् ’ उनले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकले डिजिटल प्रविधिलाई विकास, विस्तार र प्रोत्साहन गर्दै मोवाइल वालेट रेमिट्यान्सको व्यवस्या गरेको र यसले रेमिट्यान्स आप्रवाहमा सहयोग गर्ने  उनले जानकारी बताए ।

कार्यकारी निर्देशक मिश्रका अनुसार नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र इ सेवा, आइएमइ पे, फोन पे जस्ता मोबाइल वालेटहरुमार्फत् पनि घरैमा बसी बसी रेमिट्यान्स पाउन सकिने छ ।

यससँगै विप्रेषण सम्बन्धी कारोबार गर्ने बैंक तथा वित्तीय संस्थासँग आवद्ध भई विदेशमा रहेका नेपालीले विद्युतिय भुक्तानीका उपकरणहरु मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरु मार्फत् नेपालमा रहेका आफन्तहरुको खातामा पैसा पठाउन पाउने सक्ने छन् ।


पुष्प दुलाल