निषेधाज्ञामा बैंकहरुले १९ अर्ब ऋण दिए, निक्षेप संकलन १२ अर्ब मात्रै



काठमाडौं । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा गरेको निषेधाज्ञाका बीच बैंकहरुले कर्जा प्रवाह बढाएका छन् ।

यही भदौ ३ गतेबाट भएको उपत्यका निषेधाज्ञाका क्रममा नै सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

साउन मसान्तसम्म बैंकहरुले २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार भदौ १९ गतेसम्म बैंकहरुको कर्जा प्रवाह १९ अर्ब रुपैयाँले बढेर २८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

भदौको पहिलो सातामा बैंकहरुले २८ खर्ब ८६ अर्ब, दोस्रो सातामा २८ खर्ब ९२ अर्ब र तेस्रो सातामा २८ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसबीचमा बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन भने घटेको छ । साउन मसान्तसम्म बैंकहरुले ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

भदौको १९ गतेसम्म १२ अर्ब रुपैयाँले बढाएर ३४ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

भदौको पहिलो सातामा बैंकहरुले ३४ खर्ब ८० अर्ब, दोस्रो सातामा ३४ खर्ब ८५ अर्ब र तेस्रो सातामा ३४ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।


पुष्प दुलाल