नौलो परिवेश सहकारीका प्रबन्धक साढे ५ करोड ठगीको अभियोगमा पक्राउ



काठमाडौं । प्रहरीले सहकारी संस्थाको ५ करोढ ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्थाको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाव तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई उक्त रकम ठगी गरेर फरार भएको प्रहरीको भनाइ छ ।

फरार रहेका खड्गीलाई महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महानगरपालिका-२३ धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।


क्लिकमान्डु