अर्थमन्त्रीबाट खतिवडा बाहिरिने, नेकपाबाट को बन्ला अर्थमन्त्री ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई लग्ने निर्णय गरेसँगै अर्थमन्त्री डा युवराज खतिवडाको मन्त्री यात्रामा ब्रेक लागेको छ ।
नेपाल कम्युनिष्ट पार्टीले करिब दुईतिहाई बहुमत ल्याएपछि प्रधानमन्त्री ओलीले पार्टीका बरिष्ठ नेतालाई अर्थमन्त्री नबनाएर टेक्नोक्रेट खतिवडालाई बनाएका थिए ।
जसको सुरुवातमै पार्टीभित्र विरोध भएको थियो । राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा पुगेका खतिवडाले चिट्ठा तान्ता २ वर्षको मात्र कार्यकाल परेको थियो । गत फागुनदेखि नै खतिवडाको निरन्रताको विषयमा नेकपामा विवाद थियो । नेकपाको सचिवालयले बामदेव गौतमलाई राष्ट्रियसभामा लग्ने निर्णय गरेको थियो । तर,ओलीले सो निर्णय कार्यान्वयन गरेनन् । खतिवडालाई मन्त्रीबाट राजीनामा गर्न लगाएर पुनः मन्त्रीमा नियुक्त गरेका थिए । सो अनुसार उनी २१ गतेसम्म संघीय संसद्को सदस्य नबनेमा मन्त्री पद जाने थियो ।
नेकपामा खतिवडाको नाममा नै विरोध भएपछि खतिवडाले प्रधानमन्त्री र सरकारलाई सहयोग गर्न आफ्नो नाम सिफारिस नगर्न समेत अनुरोध गरेका थिए ।
अर्थमन्त्रीमा खतिवडा बाहिरिने भएसँगै नेकपामा नयाँ अर्थमन्त्रीको विषय समेत चर्चामा आएको छ । बामदेव गौतमले प्रधानमन्त्री ओलीलाई उपप्रधान सहित अर्थमन्त्री बनाउन अनुरो गरेका थिए ।
ओली बामदेवलाई राष्ट्रियसभामा लग्न तयार भएपनि अर्थमन्त्री बनाउने सम्भावना नभएको नेकपा निकट स्रोतले बताएको छ ।
ओलीले अब केही दिनमा मन्त्रीमण्डल समेत पुर्नगठन गर्नेछन् । अर्थमन्त्रीमा करिब आधा दर्जन नेताको दाबी छ । अहिलेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल आफै अर्थमन्त्रीका दावेदार हुन् । साढे २ वर्ष अगाडि ओली प्रधानमन्त्री बन्दा सुरुमा पोखरेल नै अर्थमन्त्री बन्ने र खतिवडा राज्यमन्त्री बन्ने चर्चा थियो ।
यसबाहेक नेकपामा दुईवटा अर्थमन्त्री पार्टी महासचिव बिष्णु पौडेल तथा सुरेन्द्र पाण्डे समेत अर्थमन्त्रीका दावेदार हुन् । पुरानो माओवादीबाट जर्नादन शर्मा समेत अर्थमन्त्रीको दावेदारको रुपमा रहेका छन् ।
खतिवडा अर्थमन्त्रीबाट हटेपछि प्रधानमन्त्री ओलीको पहिलो रोजाई पूर्व अर्थमन्त्री समेत रहेका पार्टीका महासचिव बिष्णु पौडेल हुनसक्ने देखिन्छन् ।
‘अहिलेसम्म हेर्दा प्रधानमन्त्री ओलीलाई साथ दिएको आधारमा बिष्णु पौडेल अर्थमन्त्री बन्ने बढी सम्भावना देखिएको छ,’नेकपाका एक नेताले भने ।
यसबाहेकको सम्भावना बनेको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे हुन् । चर्चामा रहेका नाम बाहेक पार्टीका अन्य कुनै नेतालाई समेत प्रधानमन्त्री ओलीले अर्थमन्त्री बनाएमा आश्चर्य भने हुने छैन । किनकी अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीको हो ।