वामदेव गौतमले राष्ट्रिय सभामा जाने इच्छा देखाउँदा अर्थमन्त्री खतिवडाको निरन्ततामा अन्योलता थपियो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान इच्छुक रहेको बताएका छन् ।

गत फागुनमा पार्टीले गौतमलाई राष्ट्रिय सभामा लैजाने भनि गरेको निर्णय कार्यान्वयन होस भन्ने आफूले चाहेको बताएका छन् ।

यदी नेकपाले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गरेको अवस्थामा अर्थमन्त्री डा. युवराज खतिवडाको पद खोसिन्छ ।

अर्थमन्त्री खतिवडा राष्ट्रिय सभाको सदस्य नभएको ६ महिना भदौ २१ गते पुग्छ । जसअनुसार उनी अर्थमन्त्री भइराख्नका लागि राष्ट्रिय सभाको सदस्य हुनुपर्छ । अन्यथा उनी अर्थमन्त्री रहन पाउने छैनन् ।

मिति नजिकिँदै गर्दा रिक्त भएको राष्ट्रिय सभाका सदस्यमा कसलाई लैजाने भन्ने निर्णय नेकपाले अझै गर्न सकेको छैन । जसका कारण हालसम्म पनि अर्थमन्त्री खतिवडाको निरन्तरता हुन्छ कि हुँदैन भन्ने अझै अन्योलमा छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री खतिवडाले गरेको कामबाट आफू सन्तुष्ट रहेको बताइसकेका छन् । जसका आधारमा खतिवडाकै निरन्तरता हुनेमा धेरैले आँकलन गरेका छन् ।

तर प्रधानमन्त्रीको उक्त भनाइ आएको केही दिनमै गौतमले आफू राष्ट्रिय सभामा जान चाहेको बताएपछि अन्यौलता अझ बढेको छ । जसले गर्दा नेकपा बैठकमा यस विषयमा चर्को बहस हुने देखिएको छ ।


क्लिकमान्डु