नेप्सेकाे सिस्टममा समस्या हुँदा पनि अनलाइनबाटै साढे ३ अर्बको सेयर कारोबार, खातामा नभएको सेयर बेच्नेका दिन गए
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार भएसँगै अनलाइनबाट मात्रै भएको कारोबार रकममा रेकर्ड कायम भएको छ ।
नेप्सेको सिस्टममा आएको खराबीसँगै कारोबार रकममा भने नयाँ नयाँ उचाइ थप्दै गएको छ ।
कोरोनाका कारण सरकारले निषेधाज्ञा जारी गरेसँगै सुरु भएको पूर्ण अनलाइन कारोबारमा अनलाइनबाट नै यति धेरै कारोबार भएको आज पहिलो पटक हो ।
सोमबार १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता सेयर ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ रुपैयाँको सेयर किनबेच भएको छ ।
लामो समयदेखि लगानीकर्ताका नेताहरुले अनलाइनबाट कारोबार गर्दा रकम ट्रान्सफर गर्न नसकिने, सेयर ट्रान्सफर गर्न नसकिने आरोप लगाइरहेको बेलामा अनलाइनबाट नै यति धेरै रकमको कारोबार भएको छ ।
लगानीकर्ताहरुले अनलाइनबाट रकम ट्रान्सफर हुँदैन भनेर भनेपनि नेप्सेले भने सुरु देखि नै रकम ट्रान्सफर गर्न सकिने जनाएको छ ।
नेप्सेको सिस्टममा समस्या त छँदैछ । नेप्सेको सिस्टममा समस्या हुँदा हुँदै पनि लगानीकर्ताले नेप्सेलाई गाली गर्दै अनलाइन कारोबारलाई प्राथमिकता दिँदै आएका छन् । अहिले अनलाइन सेवा लिने लगानीकर्ताको संख्या पनि बढी नै रहेको छ ।
लगानीकर्ता बढेसँगै समय समयमा नयाँ नयाँ समस्या आउने गरेको छ । समस्या भएपनि अनलाइनबाट कारोबार गर्न, सेयर ट्रान्सफर गर्न, पैसा लेनदेनमा खासै समस्या देखिएको लगानीकर्ताहरुको तर्क छ ।
अफलाइनबाट कारोबार गर्दा लगानीकर्ताले धितोमा राखेको सेयर फुकुवा नगरी बिक्री गर्न पाउने, अनलाइनमा जाँदा नपाउने, अनलाइनबाट कारोबार गर्दा भएको मात्रै सेयर बिक्री गर्न सकिने नभएको सेयर बिक्री गर्न नसकिने व्यवस्था छ । जसले गर्दा लगानीकर्ताले अनलाइन प्रभावकारी छैन भनेर विरोध गरिरहेका थिए ।
नेप्सेले पनि अनलाइनमा समय समयमा समस्या आउने गरेपछि त्यसको बारेमा प्रष्ट जानकारी गराएको थिएन । अहिले भने लगानीकर्ता आफै बुझन थालेका छन् । अनलाइनको विकल्प नभएका कारण पनि लगानीकर्ता बाध्य भएका हुन ।
सोमबारको कारोबारमा बजार मापन गर्ने सूचक २२.३१ अंकले बढेर १४८४.९९ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक २.०५ अंकले बढेको छ ।
बैंकिङ समूहको ४.९५,जलविद्युत ३३.६१, निर्जीबन बीमा २३३.७, उत्पादन तथा प्रशोधन ८८.७१, जीवन बीमा समूहको उपसूचक २६०.३३ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । २८ करोड ७१ लाख ४३ हजार ८३८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेको इ्रस्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।