एनएलजी इन्स्योरेन्सको नाफा १५.३४ प्रतिशतले बढ्यो
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १५.३४ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्षमा २०७६/७७ मा २ करोड ६७ लाख रुपैयाँले खुद नाफा बढाएर २० करोड १० लाख रुपैयाँ पुर्याएको हो । अघिल्लो आवको कम्पनीको खुद नाफा १ करोड ७२ लाख रुपैयाँ थियो ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सो अवधिमा कुल बीमा शुल्क ४.१७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका कम्पनीले गत आवको सोही अवधिमा ६ करोड ९५ लाख रुपैयाँले बढाएर १ अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ ।
समीक्षा अवधिमा कम्पनीले ८९ करोड ८ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ, भने कुल ६५ करोड ५७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी हुन बाँकी छ । कम्पनीले सो अवधिमा ५ हजार ४ सय ६५ वटा बीमा दाबी भुक्तानी गरेको छ भने २ हजार ८ सय ६२ वटा बीमा दावी भुक्तानी गर्न बाँकी छ ।
सो अवधिमा कम्पनीले २५ करोड ३८ लाख रुपैयाँ पुनरबीमा कमिशन प्राप्त गरेको छ । साथै, कम्पनीले गत आवमा ५ करोड ६८ लाख रुपैयाँ अभिकर्तालाई कमिशन वितरण गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ लाख रुपैयाँ, जगेडा कोषमा ३१ करोड ९ लाख रुपैयाँ, बीमा कोषमा ८९ करोड ६३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ५५ लाख रुपैयाँ छ ।