जनरल इन्स्योरेन्सको सीइओ नियुक्तिमा महाप्रवन्धक एसके तमोट बाधक



काठमाडौं । निर्जीवन बीमा बजारमा व्यवसाय गर्न पछिल्लो समय ३ वटा नयाँ बीमा कम्पनी अजोड, सानिमा र जनरल इन्स्योरेन्स सञ्चालनमा आए ।

यी कम्पनीहरुलाई बीमा समितिले २०७४ सालमा एकैपटक सञ्चालनको लाइसेन्स दिएको थियो । लामो समयसम्म अनुमतिको पर्खाइमा बसेर लाइसेन्स पाएका यी कम्पनीहरुलाई व्यवस्थापकीय नेतृत्व चयन गर्न पनि लामो समय नै लगायो ।

सानिमा जनरल र अजोड इन्स्योरेन्सले व्यवस्थापकीय नेतृत्व अर्थात् प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरिसकेका छन् ।
तर जनरल इन्स्योरेन्सले भने अहिलेसम्म सीइओ नियुक्त गर्न सकेको छैन ।

यो कम्पनीले बीमा समितिबाट सञ्चालनको अनुमति पाएर २०७५ असार ६ गतेबाट बीमा व्यवसाय शुरु गरेको हो । १ अर्ब रुपैयाँ चुक्ता पुँजीमा ७० प्रतिशत प्रमोटरकातर्फबाट र ३० प्रतिशत साधारण सेयर जारी गर्ने कम्पनीको रणनीति छ ।

सञ्चालनमा आउँदा कम्पनीले महाप्रबन्धकको रुपमा लामो समय बीमा क्षेत्रमा अनुभव भएका एसके तमोटलाई नियुक्त गरेको थियो । बीमा क्षेत्रमा लामो अनुभव भएको व्यक्ति भएपनि पछिल्लो समय तमोट विवादमा परेका छन् ।

कुनै कम्पनी स्थापना गर्दा लगानीकर्ताको प्रमुख चासोको विषय भनेको नै कम्पनीको बागडोर सम्हाल्न कसलाई दिने अर्थात् सीइओ को कस्तो व्यक्तिलाई बनाउने भन्नेमा हुन्छ । किनभने कुनैपनि कम्पनीको व्यवसायीक सफलता र व्यवसायीक जोखिमको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कम्पनीको सीइओको नै हुन्छ ।

पब्लिक कम्पनीका लागि सीइओ भनेको अत्यधिक महत्वपूर्ण व्यक्ति हो । किनभने पब्लिक कम्पनीको नियामक सशक्त हुन्छ । नियामकले बनाएका नीति निर्देशनको हुबहु पालना गर्दै व्यवसायीक सफलता प्राप्त गर्ने सीइओको भूमिका कम्पनीमा अहम् हुन्छ ।

कम्पनी ऐनअनुसार ‘कुनै पनि पब्लिक कम्पनीहरुले कायम मुकायम वा निमित्त कार्यकारी प्रमुख ३ महिनाभन्दा बढी राख्न पाउँदैनन् । र, प्रमुख कार्यकारी अधिकृतको पद ३ महिनाभन्दा बढी रिक्त राख्न पनि पाउँदैनन् ।’

कम्पनी ऐनमा भएको सोही व्यवस्थाअनुसार बीमा समितिले पनि ३ महिनाभन्दा बढी कामुको भरमा बीमा कम्पनी चलाउन नपाइने र सीइओ पद खाली राख्न नपाउने निर्देशन जारी गरिसकेको छ ।

‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देर्शीका २०७३’ अनुसार कुनैपनि कम्पनी सञ्चालनमा आएको ६ महिनाभित्र आवश्यक सम्पुर्ण अधिकृत नियुक्त गरिसक्नु पर्छ । तर यो कम्पनी सञ्चालनमा २ वर्ष पुरा भइसक्दासमेत सीइओ नियुक्त गरेको छैन ।

नेपालमा बीमा व्यवसाय आजको दिनमा पनि चुनौतीपूर्ण व्यवसाय नै हो । यस्तो अवस्थामा पनि व्यवसाय विस्तारका लागि नयाँ बीमा कम्पनीलाई सीइओ नियुक्तिमा हतारो हुनुपर्ने हो ।

तर जनरल इन्स्योरेन्सले भने नियमक निकायको निर्देशनलाई समेत वेवास्ता गरिरहेको छ ।

स्थापनाकालदेखि नै सीइओ नियुक्ति नगरी संस्था चलाइरहेको जनरल इन्स्योरेन्सले कम्पनीको व्यवस्थापकीय जिम्मेवारी दिएको महाप्रबन्धक तमोटको समेत कार्यकाल समाप्त भइसकेको छ ।

कम्पनी औपचारिकरुपमा सञ्चालन आउनुपुर्व नै उनी २०७५ बैशाख १८ गते उनी नियुक्त भएका हुन् । उनको गत बैशाख १८ गते नै २ वर्षे कार्यकाल सकिएको हो । तर कम्पनीको सञ्चालनक समितिले उनलाई ६ महिना समय थप गरेपछि कात्तिक १७ गतेसम्म तमोट नै महाप्रबन्धक हुन् ।

बीमा समितिले कम्पनीलाई पटक पटक रिक्त रहेको सीइओ पदमा योग्य व्यक्ति नियुक्त गर्न तिनर्देशन दिइरहेको छ । तर कम्पनीले भने विभिन्न बहानाबाजी गरिरहेको समितिका एक अधिकारीले बताए ।

‘कम्पनीलाई सीइओ नियुक्त किन नगरेको ? भनेर कयौं पटक समितिले भनिसकेको छ,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘व्यवहारीक कठिनाइ र बजारमा सीइओका लागि योग्य व्यक्तिको अभाव भएको बहाना कम्पनीको हरेक जवाफमा हुन्छ ।’

कम्पनीको केही जिम्मेवार व्यक्तिहरु नै सीइओ नियुक्तमा गर्न इच्छुक नदेखिएको समितिका ती अधिकारीको भनाइ छ ।

कम्पनीमा देखावटी सीइओ नियुक्तिको प्रक्रिया

महाप्रबन्धक तमोटको कार्यकाल सकिनुअघि नै कम्पनीलाई व्यवस्थापकीय जिम्मेवारी सम्हाल्न सक्ने व्यक्ति चयन गर्न बाध्यता थियो । सोहीकारण कम्पनीले गत फागुनमा नै सीइओ नियुक्तिको प्रक्रिया शुरु गरेको थियो । जसमा कम्पनीले ३ जनाको सीइओ नियुक्त समिति गठन भएको थियो । जसमा कम्पनीकै सञ्चालक दिपेन्द्र अग्रवाल, सशीराज बज्रचार्य र कृष्ण बोहोरा थिए ।

कम्पनीले सीइओ छनौट प्रक्रिया शुरु गरेको जानकारी समितिमा आएको भएता पनि हालसम्म अन्तिम नाम सिफारिस गरेर नपठाएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘अहिलेसम्म नाम सिफरिस गरेर कम्पनीले पठाएको छैन,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘कम्पनीबाट नाम सिफारिस भएर आउनेबित्तिकै आवश्यक प्रक्रिया पुरा गरेर स्वीकृति दिन्छौं ।’

सीइओ छनौट प्रक्रिया शुरु भइसेकेपछि कम्पनीलाई नाम सिफारिस पठाउन समितिले दवाब दिन नमिल्ने उनले जानकारी दिए ।

सरकारले कोरोना भाइसरको रोकथाम तथा नियन्त्रणको लागि गरको लकडाउनले गर्दा सीइओ नियुक्तिको प्रक्रिया समितिले स्थगित गरेको थियो । तर लकडाउन सहज भएसँग सो समितिले कम्पनीको सीइओ छनौटको लागि आवश्यक सम्पुर्ण कार्य सम्पन्न गरिसकेको छ ।

सीइओ नियुक्तको लागि असारको तेस्रो साता नै आवेदकहरुको सम्पुर्ण विवरण र प्रस्तुतिकरणको नमुना पठाइएको समितिका एक सदस्यले बताए ।

‘समितिले गर्नुपर्ने सबै काम सकेर बोर्डमा पठाइसकेका छौं,’ उनले क्लिकमाण्डूसँग भने, ‘अब फाइनल नाम बीमा समितिमा कहिले पठाउने हो त्यो बोर्डकै हातमा छ ।’

बोर्डले चालु आवको व्यवसायीक लक्ष्य बनाएरमात्र सीइओ नियुक्तको लागि थप प्रक्रिया अघि बढाउने जानकारी दिएको समितिका ती सदस्यले बताए ।

कम्पनीले गत आवमा ५५ करोड रुपैयाँ प्रिमियम संकल गरेको थियो । अब कम्पनीमा सीइओ भएर आउनेलाई चालु आवमा १ अर्ब २५ करोड रुपैयाँ प्रिमियम संकलन गर्नु पर्ने टार्गेट दिने कम्पनीले योजना बनाएको कम्पनीका एक सञ्चालकले बताए ।

‘व्यवसायीक कार्ययोजना बनाएर नै भावी सीइओ नियुक्ताको बाँकी काम सम्पन्न हुँन्छ,’ ती सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘बोर्डले बनाएको भावी व्यवसायीक लक्ष्य पुरा हुने÷नहुने कोरोनाको करह पुर्ण रुपमा सकिएपछि मात्र एकिन हुन्छ ।’

त्यसकारण पनि कोरोना संक्रमणको जोखिम पूर्णरुपमा सकिएपछि मात्र सीइओ नियुक्त समितिबाट ३ जना आवेदकको नाम माग गरी बीमा समिति पठाइने उनले बताए । उनका अनुसार कम्पनीले नयाँ सीइओ नाम समितिमा पठाउन अझै एक/डेढ महिना लाग्छ ।

कम्पनीको सीइओ पदका लागि बैंकिङ र बीमा क्षेत्रकै ६ जना सीइओ र डीसीइओहरुले आवेदन दिएको बताइएको छ ।

तमोट नै चाहँदैनन् आफ्नो कार्यकालमा सीइओ

हुन त कम्पनीले अहिलेको महाप्रबन्धकलाई सीइओ बनाउन कम्पनी सञ्चालनमा आउनअघि नै प्रयास गरेको थियो । समितिले एसके तमोटलाई कम्पनीको सीइओमा नियुक्तिको स्वीकृति भने दिएन । जसकारण उनी कम्पनीको महाप्रवन्धक भएर बसेका छन् ।

समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका–२०७३ लाई परिमार्जन गरी ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५’ लागू गरेको थियो ।

उक्त निर्देशिकामा बीमा कम्पनीमा प्रमुख कार्यकारी निर्देशकको कार्यकाल, योग्यता र उमेरहद तोकिएको थियो । जसमा बीमा कम्पनीहरुका सीइओको शैक्षिक योग्यता, अनुभव तथा उमेरको हद ७० वर्ष तोकेको थियो भने कुलिङ पिरियड ६ महिना तोकिएको थियो । यसअघिको निर्देशिकामा सीइओको उमेरहद ६५ वर्ष तोकिएको थियो ।

समितिको नयाँ निर्देशिका अनुसार ‘कुनै पनि बीमा कम्पनीको कार्यकारी प्रमुख वा विभागीय प्रमुख बन्नका लागि ७० वर्ष ननाघेको, बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानून, गणित, तथ्यांकशास्त्र वा इञ्जिनियरिङ विषयमा कम्तीमा पनि स्नातकोत्तर गरेको हुनुपर्ने, व्यवस्थापन तहमा बसेर काम गरेको ५ वर्ष वा वित्तीय क्षेत्रमा भए कम्तीमा ८ वर्ष वा दुबै क्षेत्रमा कार्यानुभव भएको, स्नातक पढेकाका हकमा भने १३ देखि १५ वर्षको कार्यानुभव हुनुपर्ने’ व्यवस्था छ ।

पछिल्लो पटक समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका परिमार्जन गरी बीमा कम्पनीको कार्यकारीहरुको उमेरहद ७० वर्ष बनाएर जारी गर्नुभन्दा २ महिना अगाडि तमोट जनरल इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका हुन् ।

बीमा समितिले जारी गरेको निर्देशनमा सञ्चालक र सीइओ बाहेक अन्य कर्मचारीको उमेर हद नतोकिएको कारण तमोटको सन्दर्भमा समितिले केही भन्न सकेको छैनन् ।

नेशनल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स हुँदै सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा २ कार्यकाल महाप्रबन्धकको जिम्मेवारी सम्हालेका तमोटलाई कम्पनीको सञ्चालक समितिले पुनः कार्यकाल थप गरी कार्यकारीमा नियुक्ति गर्न बीमा समितिलाई पत्र पठाएको थियो ।

समितिले निर्देशिकाअनुसार तमोटको योग्यता र उमेर कम्पनीको कार्यकारीका लागि अयोग्य ठहर गरेको थियो । जसकारण तमोट सिद्धार्थ इन्सोरेन्सबाट करिब ४ वर्ष अगाडि बाहिरिए ।

समितिको निर्देशनअनुसार उक्त समयमा बीमा कम्पनीको कार्यकारीको उमेर ६५ वर्ष नकाटेको हुनुपर्ने थियो । तमोटले आफ्नो फेसबुकमा सन् १९४६ अगष्ट ३ मा जन्मेको उल्लेख गरेका छन् । जसअनुसार जनरल इन्स्योरेन्समा नियुक्ति भएको समय तमोट ७० वर्ष पूरा भइसकेका थिए ।

तोकेकोभन्दा ४ वर्षबढी भएकै कारण समितिले पुनः कम्पनीमा कार्यकारी पदका लागि नियुक्ति गर्न स्वीकृति नदिएको तमोट आफू कार्यरत हुँदासम्म कसैको मातहतमा रहेका काम गर्न चाहँदैनन् भन्ने प्रष्ट हुन्छ । जसलाई कम्पनीको सञ्चालकहरुले समेत संरक्षण गरेका छन् ।
तमोटको कार्यकाल बैशाख १८ गते समाप्त हुने हुँदा कम्पनीले फागुनबाटै सीइओ नियुक्तिमा तदारुकता देखाएको थियो । तमोटले नै ६ महिना कार्यकाल थप गर्न माग गरेपछि सञ्चालक समितिले थप गरेको कम्पनीकमा उच्च व्यवस्थापनका कर्मचारीको भनाइ छ ।

सञ्चालक समितिले नयाँ सीइओको लागि नाम बीमा समितिमा पठाउन गरेको ढिलासुस्तीबाट पनि प्रष्ट छ, कम्पनीमा दशैं अगाडि सीइओ नियुक्त हुँदैन । तमोट स्वयंले नै आफ्नो कार्यकाल सकिनुभन्दा अगाडि आफुभन्दा माथिल्लो तहमा नयाँ कर्मचारी नल्याउन बोर्डमा आग्रह गरेको तमोट निकट व्यक्तिको भनाइ छ ।

‘अहिले सीइओको लागि निवेदन दिनेहरु सबै उनले काम सकिएका भाइहरु छन्,’ ती व्यक्ति भन्छन्, ‘ती नै बाट अहिले नै सीइओ कम्पनीले नियुक्त गर्योभने कार्यकाल नसकि नै उनले राजिनामा दिनुपर्ने स्थिति हुन्छ ।’

बोर्डले कम्पनीमा सीइओ साउन १ गतेबाट लागू हुनेगरी नियुक्त गर्न समितिलाई छनौट प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।
तर तमोटको कार्यकाल थपभएसँगै सीइओ नियुक्तिको प्रक्रिया सरिरहेको छ । कम्पनीले एक त्रैमास सकिएर दिने व्यवसायीक जिम्मेवारी सम्हाल्न अब आबेदक नै इच्छुक नहोला भन्न सकिन्न ।


क्लिकमान्डु