विवादै विवादको भूमरीमा इपानको निर्वाचन, प्रोक्सी र स्वार्थको द्वन्द्व



काठमाडौं । निजी ऊर्जा उत्पादकहरुको संस्था इपानको निर्वाचन आफ्नै द्वन्द्वका कारण धकेलिदै आएको छ । शैलेन्द्र गुरागाई अध्यक्ष रहेको वर्तमान कार्यसमितिको ३ वर्षे म्याद गत माघमा नै सकिएपछि इपानले नयाँ निर्वाचनको मिति तय गरेको थियो ।

विश्वव्यापी रुपमा कोरोनाको विपद नभएको भए गत चैतको दोस्रो साता नै निर्वाचन हुने थियो र नयाँ कार्यसमिति आइसक्ने थियो ।

कोरोना तथा आन्तरिक विवादका कारण निर्वाच्न रोकिएपछि यतिखेर इपानमा नेतृत्व लिन चाहने दुई पक्षबीच एक अर्कालाई हिलो छ्याप्ने र जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिने काम गरियो ।

विवाद बढ्दै गएपनि पछिल्लो पटक गत असार १५ गते निर्वाचनको मिति तय भएको थियो । तर निर्वाचनको अघिल्लो दिन नै एक जलविद्युत् कम्पनीका सञ्चालक रोशन बस्नेतले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिए । उनले सो कार्यालयबाट निर्वाचन रोक्ने आदेश ल्याएपछि अन्तिम समयमा आएर सबै प्रक्रिया रोकियो ।

इपानको निर्वाचन आज असार १५ गते सोमबार हुने पूर्व निर्धारित कार्यक्रम रहेको थियो । जिल्ला प्रशासन कार्यालय ललितपुरले इपानको निर्वाचन रोक्न निर्देशन दिएसँगै निर्वाचनको कार्यतालिका रोकिएको थियो ।

सहमति गरेर आए अनुमति दिन्छौ

पछिल्लो पटक सोही जिल्ला प्रशासन कार्यालय ललितपुरले उम्मेदवार रहेका ३० सै जनालाई सामूहिक रुपमा हामी निर्वाचनमा जान तयार छौ भनेर पत्र लेखेर आएको अवस्थामा सहमति दिने बताएको छ ।

सहमति गरेर जाने अवस्था आए निर्वाचनको अनुमति दिन कुनै समस्या नरहेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

इपानका अध्यक्ष गुरागाईले समेत उम्मेदवारहरुले सामूहिक रुपमा निवेदन दिएको खण्डमा निर्वाचन हुने बताउँछन् । ‘ मैले इपानको कार्यालयमा पत्र ठिक पारेको छु, उम्मेवदारहरु आएर हस्ताक्षर गरेको खण्डमा निर्वाचन हुन सक्छ । तर उम्मेदवार रहनु भएका साथीहरु नै भोट माग्ने समय बढ्यो भन्ने शैलीमा बसीरहनु भएको छ ’ अध्यक्ष गुरागाईले भने ‘ उहाँहरु सबै आएर हस्ताक्षर गरेको खण्डमा अनुमति पाउन सकिन्छ ।’ उहाँहरुले हस्ताक्षर गरे इपान सचिवालयले जिल्ला प्रशासन कार्याललाई निर्वाचनमा सहमति दिन अनुरोध गर्ने अध्यक्ष गुरागाईको भनाइ छ ।

जानकारहरुका अनुसार इपानको नेतृतव लिन खोजेकाहरुले नै निर्वाचनका लागि ताकेता गर्नुपर्नेमा भोट माग्ने समय बढ्यो भन्ने शैलीमा प्रस्तुत भएका छन् । उनीहरुको बीचमा समेत मतैक्य छैन ।

जिल्ला प्रशासन कार्यालयले मिलेर आउ भन्दा समेत चुप लागेर बस्दा निर्वाचन हुन नसक्ने अवस्था छैन । केहीले भने नेपाल उद्योग वाणिज्य महासंघको समेत निर्वाचन रोकिएकाले आफुहरुको पनि रोकिन सक्ने बताउँदै आएका छन् । यसअघि निर्वाचन अधिकृतले आधा घण्टाको अन्तरालमा १५ जना सदस्यलाई निर्वाचन बुथमा पठाउने गरी समय तालिका बनाइको थियो । तर, उजुरी परेपछि निर्वाचन रोकिएको थियो ।

प्रोक्सीमा विवाद

अघिल्ला निर्वाचनमा मतदाताले प्रोक्सी दिने गरी व्यवस्था मिलाइएको थियो । जुन आफैमा पटक पटक विवादमा पनि परेको थियो । इपान कार्यसमितिले प्रोक्सीलाई मान्यता दिने निर्णय गरेपछि पनि पछिल्लो पटक विवाद झनै बढेको हो । कोही प्रोक्सीको पक्षमा छन् भने कोही विपक्षमा । तर निर्वाचन समितिले भने त्यसलाई मान्यता दिएको छ । सानो संस्थामा प्रोक्सी रहने वा नरहने भन्ने विषयमा उम्मेदवारी दिएका र नदिएका बीचमा नै मतैक्य छैन ।

नयाँ कार्यसमितिका लागि उद्योगी कृष्ण आचार्य र रुग्ण जलविद्युत् आयोजनाहरुको समस्या समाधानका लागि गठित संघर्ष समितिका संयोजक सूर्यप्रसाद अधिकारी अध्यक्षमा उम्मेदवार बनेका छन् । उनीहरु मध्ये तुलनात्मक रुपमा इपानको नेतृत्व गर्ने क्षमता आचार्य र उनको समूहले राख्दछ । तर, अधिकारी समूहले भने इपानको विदमान नेतृत्वले समग्र व्यवसायीको हित नगरेको आरोप लाउँदै परिवर्तनका लागि नयाँ नेतृत्वको नारा दिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्णय र आन्तरिक विवादका कारण रोकिएको निर्वाचन कहिले हुने भन्नेमा अन्यौलतमा फसेको छ । देखिने कारण यी भएपनि प्रोक्सीको विषयकै कारण निर्वाचन रोकिएको बताउने पनि उत्तिकै छन् ।

तोकिएको निर्वाचन गराउने जिम्मेबारी पाएको इपानको कार्यसमितिले प्रोक्सी अधिकारको प्रयोग गरेर निर्वाचन गराउने निर्णयको विरोध अध्यक्षका उम्मेदवार रहेका अधिकारीले गरेका छन् । उनले सामाजिक तथा सेवामुखी संस्थामा प्रोक्सी नहुने बताएका थिए ।

इपान जस्तो संस्थामा गैरकानूनी तवरले प्रोक्सी अधिकारको प्रयोग गर्न खेजिएको उनीहरुको जिकिर छ । जिल्ला प्रशासन कार्यालयले रोकिदिएपछि प्रोक्सीको विवाद केही समय रोकिएपनि निर्वाचन हुने अवस्था आए पुनः बल्झिने अवस्था छ । संस्था दर्ता ऐन २०३४ अनुसार समाज सेवा र व्यवसायिक हक हितको संस्थामा प्रोक्सी प्रयोग गर्न पाइदैन ।

इपानको सेयर कारोबार नहुने भएकाले प्रोक्सी प्रयोग नहुने कानून ग्राह्य देखिन्छ । कार्यसमितिले प्रोक्सीको पक्षमा निर्णय गर्ने र अरुले गैरकानूनी भन्ने अवस्थाले थप विवाद बढेको हो । कम्पनी ऐन अनुसार दर्ता भएका कम्पनीमा मात्रै सो विषय मान्य हुन जान्छ ।

गत असार १५ गते सोमबार साधारण सभा सुरु गरिएको थियो । साधारण सभाले नयाँ कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया शुरु गरेको थियो यस्तै, उम्मेदवार दर्ता, मतदाता नामावली प्रकाशनलगायतका काम समेत भएको थिए ।

तर, अन्त्यमा प्रोक्सीको विवाद हुँदा हुँदै रोशन बस्नेतले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी अनुसार नै अन्त्यमा कोरोनाको कारण देखाएर निर्वाचनलगायतका काम रोकियो । त्यसमा विशेष गरी अधिकारी समूहले भूमिका खेलेको थियो ।

प्रोक्सीको विषयमा इपानका रमाइलो पक्ष भने अर्कै छ । इपानको इतिहासमा २०५७ सालदेखि नै कम्पनीको प्रतिनिधि भन्दै प्रोक्सीलाई कानूनी मान्यता दिइएको थियो । यस पटक पनि आचार्य समूहको ५० प्रोक्सी छ भने अधिकारी समूहको २५ प्रोक्सी छ । यस विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत छलफल भएको थियो ।

प्रोक्सीको पक्षमा रहेकाहरु भन्छन् ‘ विगतमा आफैले प्रोक्सी राखेर मतदान गरेका र प्रक्रियामा सहभागी भएकाहरु नै यतिखेर त्यसको विरोध गरिरहेका छन् ’ इपानका एक पदाधिकारीका उम्मेदवारले भने ‘ हिजो आफैले प्रयोग गर्दा ठिक आज बेठिक भन्ने प्रवृत्ति नै गलत छ ।’

विगतमा मानिदै आएको विषयलाई मान्नुपर्छ भन्ने र मान्नै हुँदैन भन्ने दुई वटा अतिवादले काम गरेको उनको भनाइ छ । विशेष गरी दुई जना प्रोक्सीको विषयलाई लिएर विवाद भएको छ । बुटवल पावर कम्पनीले प्रोक्सी तोकेका मध्ये दुई जनाले छाडेपनि नयाँ ल्याउन खोज्दा विवाद झिकिएको स्रोतको भनाइ छ । अधिकारी समूहले प्रोक्सी खारेज गर्नुपर्ने माग गरेको छ । त्यसमा राजनीति जोडिएको आचार्य समूहको बुझाइ छ ।

३० उम्मेदवार ७० मतदाता

इपानको निर्वाचनको रमाइलो पक्ष भनेको ३० उम्मेदवार ७० मतदाता हुनु हो । दुई समूहका उम्मेदवार नै १५/१५ जना गरी ३० जना छन् । प्रोक्सी सहित गणना गर्दा १४० को हाराहारीमा मतदाता पुग्छन् । तर सारमा उम्मेदवार ३० र मतदाता ७० मात्रै हुन् ।

संस्थापन पक्षले उद्यमी कृष्ण आचार्यलाई अध्यक्षको रुपमा अगाडि सारेको छ । यस्तै उपाध्यक्षमा कुमार पाण्डे, आशिष गर्ग, गणेश कार्की, महासचिवमा मोहन डाँगी र आनन्द चौधरीलगायतको उम्मेदवारी छ ।

इपानको अध्यक्षको उम्मेदवार अधिकारी रुग्ण जलविद्युत् आयोजना संघर्ष समितिका संयोजक थिए । उनी बाराही हाइड्रोपावर कम्पनीका समेत अध्यक्ष हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार आचार्य विन्ध्यवासिनी हाइड्रोका संस्थापक अध्यक्ष हुन् । उनले खिम्ती दोस्रो जलविद्युत् आयोजना निर्माण गर्न लागेका छन् । उनले जलविद्युत् बैंक , पर्यटन, होटेल, शिक्षालगायतका क्षेत्रमा पनि लगानी गरेका छन् ।

अधिकारी समूहको उपाध्यक्ष भरतबहादुर खत्री, उत्तम लामा र बलराम खतिवडाले उम्मेदवारी दिएका छन् ।

यस्तै महासचिवमा गोरे शेर्पा, सचिवमा भरत लामिछाने, प्रकाश दुलाल र सुमनकुमारी जोशी उम्मेदवार छन् । कोषाध्यक्षमा मिथुन पौडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै अर्जुनप्रसाद पौडेल, विक्रम विष्ट, जितमान शेर्पा, इशा श्रेष्ठ, अम्बिका मल्ल र केसाङ लामाले सदस्यमा उम्मेदवारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको एउटा इमेलको भरमा रोकिएको निर्वाचनको अर्को प्रक्रिया शुरु गर्ने भन्दा पनि विवाद बढाउन उम्मेदवारहरु नै लागिपरेका छन् । जसका कारण इपान भित्र अनावश्यक विवाद पेदा भएको छ । विगतका इपान अध्यक्ष समेत रहेका सन्दिप शाह, खड्गबहादुर विष्ट, सुवर्णदास श्रेष्ठलगायतले पनि इपानमा देखिएको विवादले व्यवसायीलाई राम्रो नगर्ने बताउँदै आएका छन् ।

तर, विवाद घट्नुको साटो झनै बढ्दै गएको छ । कोरोनाका कारण २५ जना भन्दा बढी भीडभाड हुन नपाउने व्यवस्था अनुसार नै निर्वाचन रोकिएको बताइएपनि असार १५ गतेको निर्वाचन रोक्न एउटा इमेल नै काफाी थियो ।

इपानको नयाँ कार्यसमितिका लागि महासचिवका उम्मेदवार मोहन डाँगीले भने विधिसम्वत् तरिकाले निर्वाचन तत्काल गर्न माग गरेका छन् । ‘ को कसको हार जीत हुन्छ भन्दा पनि लोकतान्त्रिक प्रक्रियाबाट तत्काल निर्वाचन हुनुपर्छ । अनेकन बाहानामा निर्वाचन सार्न पाइदैन’ डाँगीले भने ।

उनले संस्थालाई बलियो बनाउनुपर्ने र गलत संस्कारलाई प्रश्रय दिन नहुने पक्षमा मत राख्दै आएका छन् । उता अधिकारी समूहबाट सचिव पदका उम्मेदवार प्रकाश दुलालले भने परिवर्तनका लागि यूवा नेतृत्व भन्दै नयाँ नारा दिएका छन् । सानो संस्था भित्र देखिएको विवादले कोही कसैको पनि हित नगर्ने मत पनि जवरजस्त रुपमा उठेको छ ।

विद्युत् उत्पादनको हिसाबले नेपाल विद्युत् प्राधिकरण भन्दा माथि पुगिसकेको निजी क्षेत्रका व्यवसायी नै एक आपसमा भिडेर गलत संस्कार विकास गर्ने प्रवृत्तिले नेपालको ऊर्जा क्षेत्रको विकास गर्न नसक्ने मत पनि बलियो भन्दै गएको छ ।


क्लिकमान्डु