अन्तर्राष्ट्रिय सीमा साउन ३१ गतेसम्म बन्द, विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेदेखि
काठमाडौं । सरकारले साउन ३१ गतेसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ । यसअघि साउन ६ गतेसम्मका लागि गरिएको निर्णयलाई निरन्तरता दिँदै साउन ३१ गतेसम्म बढाइएको हो ।
त्यसैगरी सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुराँ खोल्ने निर्णय गरेको छ । तर सामूहिक भोज, पार्टीलगायतका सामूहिक भेला भने गर्न पाइने छैन । साथै ट्रेकिङ, ट्राभल, पर्वतरोहणलगायतको पर्यटन व्यवसाय समेत खोल्ने निर्णय गरिएको छ ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले गत सोमबार भएको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै यसबाट हिउँदमा आउने पर्यटकहरुले बुकिङ गर्न सक्ने भएकाले तयारी स्वरुप खुला गरिएको बताए ।
साथै भदौ १ गतेदेखि लागू हुने गरी तोकिएको मापदण्ड पालना गरी जिल्लाभित्र र अन्तरजिल्ला सञ्चालन हुने निजी तथा यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने समेत बैठकले निर्णय गरेको छ । त्यसैगरी बैठकले भदौ १ गतेदेखि नै लागू हुने गरी आन्तरिक र बाह्य हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी भदौ १ गतेदेखि विद्यालयमा विद्यार्थी भर्ना, बाँकी रहेका परीक्षा सञ्चालन पनि भदौ १ गतेदेखि आवश्यक मापदण्ड पालना गरी गर्न सकिने गरी बैठकले निर्णय गरेको छ ।
यी क्षेत्र खोल्नेबारे निर्णय भएन
शैक्षिक संस्थाहरु अर्को निर्णय नभएसम्मका लागि बन्द रहनेछन् । जसमा विद्यालय, कलेज, ट्युसन सेन्टर, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार गर्न पाइने छैन् ।
त्यसका साथै सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थलहरु पनि बन्द रहनेछन् । त्यसैगरी सैलुन, ब्यूटिपार्लर, स्पा, स्वीमिङ पुल, जिमखानालगायतका हेल्थ क्लब पनि अर्को सूचना नभएसम्मका लागि बन्द हुनेछन् । समूहमा खेलिने खेलकुद र मैदानमा हुने खेल प्रस्तुती, सबै प्रकारका धार्मिक र सामाजिक स्थल, पुस्तकालय, संग्रालय र चिडियाखाना यसअवधिमा बन्द रहनेछन् ।