लिपुलेक जाने बाटो बनाउँदै नेपाली सेना, ५० प्रतिशत काम सकियो



काठमाडौं । नेपाली सेनाले लिपुलेक जाने घोरेटो बाटो निर्माणको काम ५० प्रतिशत सम्पन्न गरेको छ ।

नेपाली भूमिमै जान पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारको निर्देशनमा नेपाली सेनाले दार्चुलाको घाँटीबगरदेखि छाङरु टिंकरसम्मको बाटोको २५० मिटर ट्रयाक खोलिसकेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले ट्विटमार्फत् लिपुलेक जाने ४५० मिटरमध्ये २५० मिटर बाटो निर्माण सम्पन्न भएको जानकारी दिए । उनले सो बाटो खोल्न सेनाको एक टुकडी गत असारको पहिलोसातादेखि घाँटीबगरमा परिचालित भएको जानकारी दिए ।

केही समय अघि बाटो निर्माणलगायतका काममा अभिप्रेरित गर्न प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल हेलिकप्टरमार्फत् घाङरु पुगेका थिए ।

प्रवक्ता पौडेलले गरेको ट्विटमा सेनाको केही जवानले बाटो खन्दै गरेको देखिन्छ । छाङरुमा केही समय पहिले सशस्त्र प्रहरी बलको बीओपी स्थापना भइसकेको छ । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रमा पुग्न झण्डै १० किलोमिटर दूरी पर्छ ।

नेपालतर्फ बाट सहजरुपमा आवतजावत गर्ने बाटो नभएकाले सेनालाई परिचालित गरी सो स्थानमा बाटो बनाइएको हो भने सशस्त्र प्रहरी बलले सीमा सुरक्षाको काम गरिरहेको छ ।

छाङरुमा सशस्त्र प्रहरी बलको कार्यालय निर्माणको काम समेत शुरु भइसकेको छ ।


क्लिकमान्डु