नयाँ खोज गर्ने सोचमा हुनुहुन्छ ? असोज मसान्तसम्म दिनुहाेस आवेदन



काठमाडौं । के तपाईले नयाँ खोज तथा अनुसन्धान गर्ने सोच बनाउनु भएको छ ?

आर्थिक स्रोतको अभावमा तपाईसँग ज्ञान, सीप वा इच्छा भएर पनि पूरा हुन पाएको छैन ? लकडाउनका कारण यसअघि थाहा पाएर पनि आवेदन दिन पाउनु भएको थिएन ?

यदि थिएन भने राष्ट्रिय योजना आयोगले तपाईको सोचलाई पूरा गर्ने लक्ष्यका साथ आवेदन दिने समय थप गरेको छ ।

आयोगले नयाँ खोज तथा अनुसन्धानलाई उपलब्ध गराउने शुरुवाती अनुदान दिने समय आगामी असोज मसान्तसम्म थप गरेको हो ।

आयोगले यसअघि गत वैशाख २९ गते सार्वजनिक सूचना मार्फत ३० दिन भित्र अनलाइनमार्फत आवेदन दिन भनेको थियो । लकडाउनका कारण अपेक्षित वर्ग तथा क्षेत्रले आवेदन दिन नपाएका कारण समय थप गरेको आयोगले जनाएको छ ।

आयोगले ‘नवप्रवर्तन शुरुवाती पुँजी अनुदान सम्बन्धी कार्यविधि, २०७६’ तथा ‘नवप्रवर्तन शुरुवाती पुँजी अनुदान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भए बमोजिम अनुदान उपलब्ध गराइने भएको छ ।

नवीनतम ज्ञान, सीप र क्षमता भएका आविस्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थालाई त्यस्तो उद्यम तथा व्यवसाय सञ्चालन गर्न शुरुवाती पुँजीको रुपमा अनुदान उपलब्ध गराइनेछ । सो कार्यविधि अनुसार ३० दिनभित्र अनलाइनमार्फत आवेदन दिन भनिएको थियो ।

कोरोना भाइरसको महामारीले मुलुकको अर्थतन्त्रमा परेको असरको कारण असोज मसान्तसम्म समय थपिएको आयोगले जनाएको छ ।

आयोगले एक सूचना प्रकाशति गर्दै कोरोनाको कारण मुलुकको अर्थतन्त्रमा परेको असरको कारण कार्यक्रम कार्यान्वयनको उचित व्यवस्था मिलाउन समय थप गरिएको हो ।

आव २०७७/०७८ मा नवप्रवर्तनकारी कार्यमा लगानी प्रोत्साहत गर्न चाहने उद्यमी व्यवसायीलाई २ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

त्यसको लागि चालु आवको बजेट वक्तव्यको बुदाँ ५९ मा भएको व्यवस्था अनुसार कार्यविधि संशोधन लगायतका थप प्रशासनिक काम गर्नुपर्ने हुँदा असोज मसान्तसम्मको समय थप गरिएको आयोगको भनाइ छ ।

आयोगले संशोधित कार्यविधि र अन्य प्रक्रियाका बारेमा बारेमा पुन सार्वजनिक जानकारी दिने जनाएको छ ।


क्लिकमान्डु