बजेटले निराश सेयर लगानीकर्ता मौद्रिक नीतिले भए खुसी, भने- बजारले नयाँ गति लिन्छ
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि ल्याएको बजेटले निराश बनेका सेयर लगानीकर्ता मौद्रिक नीतिले भने खुसी भएका छन् ।
अर्थमन्त्री डा. खतिवडाले ल्याएको बजेटमा आफ्ना माग पुरा नगरेको भन्दै निराश भनेका सेयर लगानीकर्ताहरु गभर्नर महाप्रसाद अधिकारीले ल्याएको मौद्रिक नीतिले भने खुसी भएका छन् ।
यो मौद्रिक नीतिले नेपालको पुँजी बजारको विस्तार विकासमा धेरै नै सहयोग पुग्ने लगानीकर्ता तथा सेयर बजारका जानकारको भनाइ छ । यसले सेयर बजारमा नयाँ गति कायम हुने पनि बताइन थालेको छ ।
सेयर बजारका जानकार दिलिप मुनकर्मी चालु आर्थिक वर्षको मौद्रिक नीतिले नेपालको पुँजी बजार विकास हुने बताउँछन् । अहिलेको मौद्रिक नीतिलाई पुँजी बजारको तर्फबाट हेर्दा समग्रमा राम्रो भन्न सकिने उनको तर्क छ ।
यता नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले पनि मौद्रिक नीति नेपालको पुँजी बजारमैत्री भएको प्रतिक्रिया दिए ।
सेयर धितोमा जाने कर्जाको सिमा लगानीकर्ताहरुले ८० प्रतिशत मागेकोमा धितोपत्र बोर्डले ७५ भनेको र राष्ट्र बैंंकले ७० प्रतिशत दिएको बताए । बैंकहरुले ८० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने व्यवस्था सकारात्मक भएको तर्क गरे ।
मौद्रिक नीतिमा बैंकहरुको मर्जरको प्याकेज ल्याएको विषय राम्रो भएको र यसले पुँजी बजारलाई सकारात्मक प्रभाव पर्ने बताए । अब बैंकको ब्याजदर एकल अंकमा आउने भएपछि त्यसले झनै राम्रो प्रभाव छाड्ने उनको दाबी छ । यो वर्ष नेपालको पुँजी बजारका लागि राम्रो वर्षको रुपमा उदय हुने रौनियारको तर्क छ ।
यस्तै सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले पनि मौद्रिक नीति लगानीकर्ताले अपेक्षा गरे अनुसार नै रहेको धारणा राखे ।
‘यो मौद्रिक नीतिले नेपालको पुँजी बजारको लागि कोसेढुंगा नै सावित हुने छ’ उनले भने ।
मौद्रिक नीतिले लगानीकर्ताको माग सन्तुलित रुपमा सम्बोधन गरेको भन्दै यसले बजारको विकास विस्तारमा काम गर्ने धारणा राखे । यसले बजारको विस्तारमा सहयोग पुग्ने अर्यालको तर्क छ ।
नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीति अघिल्लो आर्थिक वर्षभन्दा धेरै राम्रो भएको प्रतिक्रिया दिइन । सेयर धितोमा जाने कर्जाको सिमा ८५ प्रतिशत मागेपछि ७० प्रतिशत आएको भन्दै यसलाई पनि प्रभावकारी मान्न सकिने धारणा राखिने । १८० दिनको एभरेज डे बाट १२० दिन कायम गरिनु लगानीकर्ताको लागि प्रभावकारी भएको उनको तर्क छ ।
पुस मसान्तसम्म ब्याज तिर्न सक्ने व्यवस्था, मर्जरका लागि ल्याएको प्याकेजले लगानीकर्तालाई उत्साहित बनाउने उनको धारणा छ । यो मौद्रिक नीति लगानीकर्ताको हितमा भएको र यसले नेपालको पुँजी बजारको विकास, विस्तारलाई प्रभावकारी रुपमा अघि बढाउन मिल्ने प्रतिकृया अध्यक्ष पोखरेलको रहेको छ ।
यता नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षण चौधरीले पनि मौद्रिक नीति समग्रमा राम्रै रहेको धारणा राखेकी छिन् । न्यूनतम कर्जा प्रवाह ५ प्रतिशत प्रवाह हुनु, सेयर धितोमा जाने कर्जा ६५ बाट ७० प्रतिशत हुनु लगानीकर्ताको लागि राम्रो भएको उनको तर्क छ ।
त्यस्तै सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्याङ्कन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नु पर्ने व्यवस्थालाई परिवर्तन गरी १२० दिन कायम गरिनु लगानीकर्ताका लागि राम्रो भएको चौधरीले बताइन ।
यसले बजार र लगानीकर्तालाई थप सहुलियत प्रदान गरेको उनको प्रतिक्रिया छ । कर्जाको अबधी भुक्तानी बढाइनुले सेयरमा थप तलरता प्रदान गर्ने उनको तर्क छ ।