सांसदलाई आफ्नो खातामा कति पैसा कसरी जम्मा हुन्छ भन्ने थाहा हुँदैनः सांसद पौडेल
काठमाडौं । सांसद डा.बिमला राइ पौडेलले सांसदलाई आफ्नो बैंक खातामा कति, कुन-कुन पैसा कसरी जम्मा हुन्छ भनेर थाहा नहुने बताएकी छिन् ।
राष्ट्रिय सभाको बैठकमा सांसद पौडेलले यस्तो बताएकी हुन् । उनले गाडी व्यवस्था हुँदा हुँदै पनि सांसदले यातायात भत्ता लिएको भन्ने सूचना कर्मचारीले चुहाउने गरेको आरोप लगाउँदै यदि त्यो वैधानिक होइन, दिन मिल्दैन भने नदिन आग्रह गरिन ।
‘गाडी दिएको संसदलाई यातायात खर्च दिन मिल्दैन भने किन बैंकमा पठाएको, मिल्दैन भनि–भनि पठाउने, यदि पठाएको छैन भने फेरी केको हल्ला हो यो ?’ उनले प्रश्न गरिन् ।
सांसदहरुको हुर्मत लिने, सांसदहरुको जनताप्रति विश्वास, घटाउने, जनताले सांसदलाई गर्ने विश्वासको विश्वासघात गराउने, दुरी बढाउने काम नगर्न पौडेलले आग्रह गरेकी छिन् । ‘नमिल्ने, अवैधानिक काम, नीतिमा नमिल्ने काम कर्मचारीले पनि नगर्न र नभएको हल्ला नफिजाउँ’ उनले भनिन् ।
बन्दा बन्दीको समयमा भएको संसद बैठकमा सांसदले कुन कुन बैठकमा कति भत्ता पाएको भनेर प्रश्न गरेकी छिन् ।
एक साता यता सांसदले बैठक भत्ता, यातायात भत्ता पाएको, गाडीको व्यवस्था गर्दा पनि सांसदले यातायात भत्ता पाएको चर्चा सुरु भएको जानकारी गराइन् ।
बैठक नभएको दिन यातायात भत्ता नपाउने र जति नै बैठक बसेपनि आफूले गाडी व्यवस्था गरेर आउनेलाई एउटा मात्रै भत्ता दिने प्रचलन रहेको उनको भनाइ छ ।