नविल बैंकमा के गर्दै छन् विनोद चौधरी ?



काठमाडौं । नबिल बैंकले गत पुसमा स्वतन्त्र संचालकमा पूर्वनिर्वाचन आयुक्त इला शर्मालाई नियुक्त गर्यो ।

तर, उनको परिवारका सदस्यले नबिल बैंकबाट ऋण लिएको पाइएपछि इलाले नबिल बैंक छाड्नुपर्यो । इलाका देवरले बैंकबाट ऋण लिएका थिए ।

नविलले गत वर्ष युनाइटेड इन्स्योरेन्सका अध्यक्ष उदयकृष्ण उपाध्यायलाई संचालक बनाएर ल्यायो । उनले पुस महिनामा राजीनामा गरे ।

नेपालका बैंकहरुमा बलियो मानिने नबिल बैंकको संचालक समिति निकै अस्थिर बनेको उदाहरण हो यो ।

व्यवसायिक घराना चौधरी समुहका कारण बैंकको संचालक समिति नै अस्थिर बनेको हो । बैंकमा चौधरी ग्रुपको ५० प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ ।

एकाघरको नियन्त्रणबाट बैंकलाई बाहिर राख्नुपर्छ भन्ने अर्थमन्त्री र गभर्नर छन् । तर, चौधरी ग्रुपले घुुमाउरो तरिकाले नविल बैंकमाथि पूर्ण नियन्त्रण गरेको छ । जसकारण बैंकमा सीइओ र सञ्चालक चौधरीलाई मन परेका दिन राख्ने र हटाउँदै आएका छन् ।

कुनै एउटा व्यक्ति वा घराना हावी भएका संस्थाहरु जुनसुकै दिन पनि संकटमा पर्न सक्छन् । यद्यपि अहिलेसम्म नविल बैंकको प्रफर्मेन्स भने राम्रो छ ।

नविल बैंकका सबैभन्दा ठूलो मालिक ‘मिन्टो’ को हुन् ? यस्तो छ विनोद चौधरीसँगको कनेक्सन

पछिल्लो समय नविल बैंकले डेपुटी सीइओकारुपमा बैंकका निवर्तमान संचालक उदयकृष्ण उपाध्यायलाई नियुक्त गर्ने तयारी गरेको छ । पुसमा बैंकको संचालक समिति पदबाट राजीनामा दिएका उपाध्यायलाई असारमा डेपुटी सीइओ नियुक्ति गर्ने तयारी छ ।

‘अन्य कुनै बाधा अड्चन नआएमा उपाध्याय आगामी केही सातामा नविल बैंकको डेपुटी सीइओ नियुक्त हुने छन्,’ बैंकका एक सञ्चालकले भने ।

कुलिङ पिरियडका कारणमात्रै उदयलाई असारअघि डेपुटी सीइओ नियुक्ति नगरिएको हो । स्मरण रहोस् कुलिङ पिरियडकै कारण अहिलेका सीइओ अनिल शाहलाई पनि नविलमा डेपुटी सीइओको रुपमा प्रवेश गराएर पछि सीइओ बनाइएको हो ।

विगतमा बैंकको संचालक रहेको व्यक्ति डेपुटी सीइओ बनेर आएपछि अहिलेका सीइओ अनिल शाहलाई काम गर्न पक्कै पनि अफ्ठ्यारो हुन्छ ।

नबिलबाट मेगा गएर पुनःनबिलमा डेपुटी सीइओ हुँदै सीइओ बनेका शाहसँग पछिल्लो समय प्रमुख लगानीकर्ता चौधरी समुह सन्तुष्ट नभएको हल्ला भूसको आगोझैं भित्रभित्रै फैलिइसकेको छ ।

उदयलाई डेपुटी सीइओ बनाएर चौधरीले एकतिर दुई शिकार गर्न खोजेका छन् ।

पहिलो, अनिल शाहलाई दबाबमाा पारेर डेपुटी सीइओमार्फत् आफू हावी हुने तथा बैंक छाड्न बाध्य बनाउने ।

‘चौधरी समूहले सीइओ शाहलाई दबाबमा राख्न संचालक भएका उदयलाई डेपुटी बनाउन लागेको हो,’ स्रोतले भन्यो, ‘हामीले नमान्दा केही हुँदैन । किनभने बैंकमा चौधरी समूहको बहुमत सेयर स्वामित्व छ ।’

राष्ट्र बैंकले बैंक सञ्चालनको कार्यकारी अधिकार सीइओलाई दिएको हुन्छ । सञ्चालक समितिले त नीतिगत निर्णय गर्ने मात्रै हो ।

बैंकका लगानीकर्ता तथा सञ्चालकहरुले सीइओलाई दबाबमा पारेर आफ्ना व्यक्तिगत काम पनि लगाउने गर्छन् । कतिपय सीइओले मिल्नसक्ने जति काम गरिदिन्छन् र आफ्नो जागिर जोगाउँछन् । तर कतिपयले मान्दैनन् । बरु जागिर छाड्न तयार हुन्छन् ।

बैंकका ठूला लगानीकर्ता तथा सञ्चालकले सीइओमाथि हावी हुनका लागि आफ्ना विश्वासपात्रलाई डेपुटी सीइओ बनाउने प्रवृत्ति नेपाली बैंकिङ क्षेत्रमा हावी भएको घामझैं छर्लङ्ग छ । अहिले नविल बैंकमा हुन लागेको पनि त्यही हो ।

‘एकाघरको नियन्त्रणबाट बैंकलाई बाहिर नल्याएसम्म यस्तो अस्थिरता भइनै रहन्छ,’ स्रोतले भन्यो, ‘नविल बैंकका बहुमत सञ्चालकहरु सर्वसाधरण सेयरधनी र निक्षेपकर्ताप्रति होइन कि चौधरी ग्रुपप्रति उत्तरदायी हुन्छन् ।’

नविल बैंकमा अनिल शाह पुनः आएपछि विभिन्न बैंकबाट ट्यालेन्ट हन्टको नाममा उच्च कर्मचारीसमेत भित्राएका छन् । विगतमा नबिल बैंकले ठूलो पदमा अरु बैंकबाट खासै कर्मचारी ल्याउने गर्दैनथ्यो ।

दोस्रो, उदयलाई डेपुटी सीइओ नियुक्त गरेर चौधरी समुहले अर्थमन्त्री र गभर्नरसँग सम्बन्ध सुधार गर्न खोजेको हो ।

यसमा एक पत्रकारको पनि भूमिका छ । अर्थमन्त्री डा. युवराज खतिवडासँग लामो समयदेखि घनिष्ट सम्बन्ध रहेका ती पत्रकार उदय उपाध्यायका नातेदार समेत हुन् ।

‘चौधरी ग्रुप र अर्थमन्त्रीबीच सम्बन्ध सुधार गर्न पावर ब्रोकरका रुपमा ती पत्रकारले उदयलाई डेपुटी सीइओ बनाउ सक्रिय भूमिका खेलेका छन्,’ स्रोतले भन्यो ।

चौधरी ग्रुपका प्रमुख विनोद चौधरी नेपाली कांग्रेसका तर्फबाट सांसद छन् । सांसदमा चौधरीले सरकार र अर्थमन्त्री उछितो काढ्छन् । केही समयअघिसम्म कांग्रेसले नियुक्ति गरेका डा. चिरञ्जीबी नेपाल गभर्नर थिए । जसकारण चौधरीले राष्ट्र बैंकबाट सुरक्षित महशुस गरेका थिए ।

तर, राष्ट्र बैंकको गभर्नरमा अर्थमन्त्री खतिवडासँग निकट रहेका महाप्रसाद अधिकारी नियुक्त भएपछि भने चौधरी ग्रुपले उदयलाई डेपुटी बनाएर सम्बन्ध सुधार गर्न खोजेको हो ।

उपाध्याय कुमारी बैंकबाट बाहिरिएपछि चौधरी समुहले प्रवद्र्धन गरेको युनाइटेड इन्स्योरेन्समा चौधरी समुहले नै अध्यक्ष बनाएको थियो ।

त्यसअघि अर्थमन्त्री खतिवडाले एक वाणिज्य बैंकका सीइओलाई फोन गरेर ‘उदयजीलाई प्रोफेसनल डाइरेक्टर’ बनाउनु पर्यो भन्दै भनेका थिए । तर, ती सीइओले उदयलाई सञ्चालक बनाएनन् । त्यसबेला पनि ती पत्रकारले भूमिका खेलेका थिए ।

पछि चौधरी ग्रुपले नविल बैंकको सञ्चालक बनायो । यसबाट के बुझ्न सकिन्छ भने अर्थमन्त्री खतिवडाको चाहनामै उदय नविल बैंकको डेपुटी सीइओ हुँदैछन् ।

नविल बैंकमा बंगलादेशमा दर्ता भएको एनबी इन्टरनेशनल नामक कम्पनीको ठूलो सेयर स्वामित्व छ । एनबी इन्टरनेशनलमा चौधरी समूहको लगानी छ ।

एनबी इन्टरनेशनको केही प्रतिशत स्वामित्वको लाभांस राष्ट्र बैंकले रोकेको छ । किनभने केही प्रतिशत सेयरको अन्तिम लाभग्राही चौधरी समूह भएको र नेपालीलाई विदेशी मुद्रामा लाभांस नदिने राष्ट्र बैंकको नीतिका कारण विनोद चौधरीका नाममा भएको सेयर स्वामित्वको लाभांस रोकिएको हो ।

विनोदका छोराहरु एनआरएन भएकाले उनीहरुको नाममा भएको सेयरको लाभांस भने रोकिएको छैन ।

‘उदयलाई डेपुटीमा प्रवेश गराए सीइओ बनाउने चौधरी ग्रुपको योजना छ, होइन भने कुमारी बैंकको सीइओ भइसकेका र नविल बैंककै सञ्चालक भइसकेका उनी किन डेपुटी सीइओ खान तयार हुन्थे ?’ स्रोतले भन्यो ।

यद्यपि उदय उपाध्याय प्रोफेसनल बैंकर हुन् ।


पुष्प दुलाल