सबै वडामा र्यापिड टेष्ट गर्दै काठमाडौँ महानगरपालिका, ४ नम्बर वडाका ५१ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्यापिड टेष्टलाई तिव्रता दिएको छ ।
काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै हिजो काठमाडौँ महानगरपालिकाले वडा नम्बर–५ का ३९ जनाको र्यापिड टेस्ट गराएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
काठमाडौँ महानगरपालिकाले र्यापिड टेस्टलाई निरन्तरता दिदैँ आज वडा–४ का ५१ जनाको टेष्ट गराएको छ । बिदेशबाट आएका र लक्षणको शंका लागेका व्यक्तिहरुको पहिचना गरी उनीहरुको टेष्ट गरेको वडाध्यक्ष मोहन विष्टले जानकारी दिए ।
‘काठमाडौँ महानगरपालिका वडा–४ ले जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयसेविकाहरुको टोलीलाई घर–घरमा पठाएर बिदेशबाट आएका, सेल्फ क्वारेन्टायन र क्वारेन्टायनमा बसेका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुको पहिचान गरी विवरण संकलन गरेको थियो,’ वडाध्यक्ष मोहन विष्टले भने, ‘यसरी विवरण संकलन गरेका ४६ र वागमती कलेजको क्वारेन्टायनमा बसेका ५ जान गरी ५१ जनाको आज र्यापिट टेष्ट भयो । उहाँहरु सबैको रिर्पोट नेगेटिभ आयो ।’
कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले फागुन १८ पछि विदेशबाट फर्केर महानगरपालिका भित्र वसोवास गर्दै आएका १ सय ३६ जनाको विवरण संकलन गरिसकेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । ‘हामीले पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर २०७६ फागुन १८ पछि विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका महानगरवासीको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्नेलगायतका कार्य गरेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘अब ३२ वटै वडामा र्यापिड टेष्टलाई तिव्र रुपमा अघि बढाउछौँ ।’
उनले बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुलाई सम्वन्धित वडामा सम्पर्क गर्न पनि अनुरोध गरे । ‘यसो भयो भने आफू सुरक्षित छु भन्ने ढुक्क हुन्छ,’ उनले भने, ‘छिमेकलाई पनि ढुक्क हुन्छ ।’
काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार महानगरपालिकाले विवरण संकलन गरेका १ सय ३७ मध्ये सबै भन्दा बढी दुबईबाट फर्किएका छन् । त्यसैगरी कतार,फान्स, अष्टे«लिया, बेल्जिम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्याण्ड, जापान, जर्मन, भारतलगायतका देशको भ्रमण गरी आएकाहरुको पनि विवरणमा संकलन गरिएको छ ।
महानगरपालिकाले त्यसरी विदेशबाट आएर महानगरपालिकामा बसोवास गर्नेमा सबै भन्दा बढी वडा नम्बर–११ मा रहेको विवरण संकलन गरेको छ । विवरण अनुसार उक्त वडामा २६ जना रहेका छन् । वडा–३० र ३१ मा ११–११ जना रहेका छन् भने ३२ मा ६ जना रहेका छन् । त्यस्तै वडा–२२ मा ७ र वडा–२१ र ७ मा ६–६ जना रहेका छन् । वडा–१४ मा ५ र वडा–१९ मा ४ जना रहेका छन् । अन्य वडामा त्यो भन्दा कम सङ्ख्यामा रहेका छन् ।