दिल्लीमा कोरोना आतंकः डाक्टरलाई कोरोना लागेपछि सरकारी अस्पताल बन्द



काठमाडौं । कोरोना संक्रमित विरामीको उपचारमा संलग्न डाक्टरमा नै कोरोना भएको पुष्टि भएपछि भारतको दिल्लीस्थित सरकारी अस्पताल बन्द गरिएको छ ।

कोरोना पुष्टि भएलगत्र्त अहिले दिल्ली स्टेट क्यान्सर इन्स्टिच्युट अस्तपाललाई पुर्णरुपमा बन्द गरी ओपिडी, कार्यालय र ल्याब लगायत विभिन्न ठाउँमा स्यानिटाइज गर्ने काम शुरु भएको अधिकारीहरुले बताएका छन् ।

अहिले कोरोना संक्रमित डाक्टरसँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ । ती डाक्टरको नाम भने खुलाइएको छैन ।

कोरोना संक्रमण पुष्टि भएका डाक्टर बेलायतबाट फर्किएका आफन्तबाट संक्रमित भएको हुनसक्ने आंकलन गरिएको छ ।

अस्पतालले उनी बेलायतबाट भर्खर फर्किएका आफ्ना भाई र बुहारीबाट संक्रमित भएको हुनसक्ने बताएको छ । उनी भाई र बुहारी भेट्न उनीहरुकै घर पुगेकी थिइन् ।

दिल्लीमा १ सय २० जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ जनाको मृत्यु भइसकेको छ ।

त्यसै गरी दिल्ली सरकारद्वारा सञ्चालित मोहल्ला क्लिनिकमा कार्यरत एक जोडी डाक्टरमा यसअघि नै कोरोना पुष्टि भइसकेको छ । उनीहरु साउदी अरबबाट फर्केका विरामीबाट संक्रमित भएको आशंका गरिएको छ ।

भारतमा अहिले कुल संक्रमित संख्या १४ सय पुगेको छ भने पछिल्लो २४ घण्टामा मात्रै १ सय ४६ जना नयाँ संक्रमित भेटिएका छन । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ३५ जनाको मृत्यु भएको छ ।


पुष्प दुलाल