कोरोना संक्रमणको आशंका छ ? घरमै बसेर यसरी थाहा पाउनुहोस



काठमाडौं । कोरोना भाइरसको सम्भावित महामारीमाथिको निगरानी गर्न काठमाडौं महानगरपालिकाले आइतबार ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ सार्वजनिक गरेको छ ।

महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रणाली विकासकर्ताहरुलाई आफ्ना-आफ्नै ठाउँबाट भिडियो कन्फरेन्समा जोडेर सभा—गृहबाट प्रणालीको शुभारम्भ गरेका हुन ।

यो प्रणालीमा प्राप्त सूचनालाई रोगसँग सम्बन्धित विशेषज्ञ डाक्टर, तथ्याङ्क विशेषज्ञ, भौगोलिक सूचना–प्रविधि विषेषज्ञले तथ्य विश्लेषण गरेर त्यसका आधारमा जिज्ञासु प्रयोगकर्ता र महानगरलाई अवस्थाका बारेमा प्रणालीले सूचना दिनेछ । तथ्य विश्लेषणपछि बिरामीले सावधानी अपनाउनु पर्ने नपर्ने, घरमै सुरक्षित बसे हुन्छ कि स्वास्थ्य संस्थामा जानुपर्छ ? विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक पर्छ कि ? जस्ता बिरामीका अवस्था थाहा पाउन सकिन्छ ।

यस प्रणालीको विकाससँगै संक्रमणको आशंका भएका व्यक्तिहरु अस्पताल गएर भीड हुने अवस्थामा कमी ल्याउने अपेक्षा गरिएको प्रणाली विकासकर्ताहरुले जानकारी दिएका छन् । महानगरले तथ्यमा आधारित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण पाउँछ र व्यक्तिले घरबाटै सेवा पाउने अवसर पाउँछन ।

प्रणाली शुभारम्भ गरिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भने ‘पछिल्लो संवेदनशील परिस्थितिलाई ध्यानमा राखेर यो प्रणाली बिकास गएिकोरएको हो । कतिपय बेलामा व्यक्तिको सावधानीले मात्र पनि सेवा प्रवाहलाई सहज बनाउँछ । सेवा दिनुपर्ने ठाउँमा उपचार नगरी नहुने बिरामी मात्र भए भने सेवाप्रवाहमा अनावश्यक प्रक्रिया, झन्झट र खर्च गर्नु पर्दैन । हामी हाम्रा सेवालाई चुस्त र व्यबस्थित बनाउँदै लाँदैछौं । प्रणाली यसका लागि पनि हो ।’

प्रमुख शाक्यले प्रभावकारी परिणामको अपेक्षा राखेको पनि बताए । ‘अहिलेसम्म प्राप्त ज्ञान र अनुभवबाट विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यको आधारमा तयार पारिएको प्रणालीले कोभिड-१९ को संक्रमणको सम्भावनालाई सजिलोसँग पहिचान गर्न र व्यक्तिको स्थितिको गम्भीरता आफैँले स्वमुल्याङ्कन गर्न सघाउनेछ,’ उनले भने, ‘यसलाई थप व्यवस्थित गर्न आवश्यक पर्दा हामी महानगरपालिकाको सहयोगमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा (१०२) लाई परिचालन गरेर सेवा छिटो र उपचारलाई गुणस्तरीय बनाउँछौं ।’

यो प्रणाली अहिलेका लागि कोभिड नियन्त्रणका लागि तयार गरिएको पनि उनले जानकारी दिए । प्रणालीका बिकासकर्ता एवं सुचना प्रणालीविज्ञ भुषणराज श्रेष्ठ महामारी नियन्त्रणमा आइसकेपछि पनि यसलाई महानगरले यसलाई नियमित प्रयोगमा ल्याउन सकिने बताए । ‘महामारी नियन्त्रणका लागि बिश्व अनुभवबाट प्राप्त ज्ञानको प्रयोग काठमाडौंका लागि नयाँ हो । मलाई संक्रमण भयो कि भनेर मनमनै डर राख्ने तर स्वास्थ्यकर्मीको पहुँचमा जान अप्ठयारो मानीरहेका व्यक्तिहरुका लागि यो सजिलो उपाय हो,’ उनले भने ।

कसरी लिन सकिन्छ जानकारी ?

तपाईँहरु सबैले यो एप गुगलको ‘प्लेस्टोर’ बाट डाउनलोड गरी इन्स्टल सक्नुहुन्छ । इन्स्टल भइसकेपछि त्यसमा रहेक अत्यन्त सरल विधीअनुसार आफ्नो वा आफन्तका बारेमा सूचना भर्न सक्नु हुनेछ । तपाईँले दिएको सूचनाका आधारमातपाईँ कोभिड १९ को जोखिममा हुनुहुन्छ कि हुँदैन, त्यो जोखिम छ भने कति छ, आदि आफैले नै तत्कालै थाह पाउन सक्नुहुनेछ ।

यो एपले नै तपाईँलाई त्यो बताउने छ । र यो सम्पूर्ण सूचना सर्भरमा अभिलिखित हुनेछ । यो सूचनालाई ड्यासबोर्डमा रहेका डाक्टर लगायतका स्वास्थ्यकर्मीहरुले तत्काल देख्नेछन् र अनुगमन शुरु गर्नेछन् । शहरको कुन क्षेत्रबाट यो सूचना आएको हो, त्यो तत्काल ड्याशबोर्डबाट पत्ता लाग्नेछ । यसरी दर्ता भएका व्यक्तिले दिनको तीन पटक आफ्नो स्थितिबारे एप मार्फत् सूचना दिनु पर्नेछ ।

त्यसको आधारमा ड्याशबोर्डमा रहेका स्वास्थ्यकर्मीले तपाईँको स्थिति कुन दिशा तर्फ जाँदैछ, निको हुँदैछ कि साह्रो हुँदैछ, थाहा पाउनेछन् । त्यसको आधारमा घरमै ‘सेल्फक्वरन्टिन’मा बस्नु पर्ने नपर्ने, अस्पतालमा भर्ना हुनुपर्ने वा नपर्ने सल्लाह दिनेछन् ।

सर्भिलेन्स प्रणालीमा आवद्ध हुन चाहिने एप ‘कोविड-१९ एप प्ले स्टोरबाट डाउन–लोड गर्न अझै केही समय लाग्ने भएकोले हालका लागि काठमाण्डौँ महानगरपालिकाको वेब साइट डब्लुडब्लुडब्लु डट काठमाडौँ डट जिओवी डट एनपीबाट डाउन लोड गर्न मिल्ने बनाइएको छ ।


क्लिकमान्डु