स्याङ्जामा २१३ क्वारेन्टाइनमा, गाँउ गाँउमा विदेशबाट फर्कने खोज्दै
वालिङ । स्याङ्जाका विभिन्न पालिकामा निर्माण भएका क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २१३ पुगेको छ ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्लाका ११ पालिकाले निर्माण गरेका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा विदेशबाट फर्केपछि बस्नेको सङ्ख्या २१३ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।
स्याङ्जामा हालसम्म क्वारेन्टाइनमा १९, सेल्फ क्वारेन्टाइनमा एक र होम क्वारेन्टाइनमा १९३ रहेका भण्डारीले बताए । ‘जिल्लाका सबै स्थानीय तहमा स्थानीय तह, प्रहरी प्रशासनलगायतको सहयोगमा विदेशबाट आउनेको विवरण सङ्कलन गर्ने कार्यले तीव्रता पाएको छ’, भण्डारीले भने, ‘विदेशबाट फर्केकालाई घर घरमै पुगेर होम क्वारेन्टाइन वा पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा राखेका छौँ ।’ विदेशबाट फर्केकाहरुको खोजी कार्यलाई तीव्रता दिइएकाले क्वारेन्टाइनमा बस्नेको सङ्ख्या थपिन सक्ने बताइएको छ ।
१९ वर्षीया युवती सवार जहाजमा यात्रा गरेका भनिएका स्याङ्जाका छ जना क्वारेन्टाइनमा बसेका स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
छ जना मध्ये स्याङ्जाको फेदीखोला गाउँपालिकाका एक युवक र उनको परिवार तीनजनाको स्वास्थ्य परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।