किशोर प्रधानको दाबीः मेरो उम्मेद्ववारीको आधार बलियो छ, सबैलाई न्याय गर्छु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २८ र २९ गते हुने साधारणसभामा बरिष्ठ उपाध्यक्षका उम्मेद्धवार किशोर प्रधानले आफूले महासंघमा २८ वर्ष सक्रिय जीवन बिताएको र थुप्रै काम गरेकोले आफ्नो उम्मेद्धवारीको आधार बलियो भएको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानले आफूले विगत २८ वर्षदेखि महासंघ प्रतिनिधित्व गरेको सुनाए । उनले आफूले जिल्लानगर र वस्तुगततर्फ महासंघमा प्रतिनिधित्व गरेको स्पष्ट पारे ।

उनले आफूले नेपाल जेसिजको समेत राष्ट्रिय अध्यक्ष भएर काम गरिसकेको र एशियाकै बेष्ट योङ प्रेसिडेन्टको अवार्ड पाएको स्मरण गराए ।

उद्योग वाणिज्य महासंघको ६ दशकको इतिहासमा साना तथा मझौला व्यवसायी तथा उद्यमी अहिलेसम्म नेतृत्वमा पुग्न नसकेको र आफ्नो त्यो सपना रहेकोले अहिले त्यो मौका आएको पनि प्रधानले सुनाए ।

आफूले महासंघको मर्यादा र संस्थाको इमान्दारितालाई यो जिल्लानगरको वस्तुगतको एशोसिएटका सम्पूर्ण सदस्यलाई सही न्याय दिन्छु भनेर नै उम्मेद्वारी दिएको प्रधानको भनाइ छ ।

उनले मुलुकलाई कृषि क्रान्तिबाट समृद्धिको यात्रामा अघि बढाउन सकिने पनि सुनाए । आफूलाई शेखर गोल्छाको साथ र समर्थन रहेको सुनाए । त्यतिमात्रै नभएर, महासंघका भुतपूर्व अध्यक्षहरुको पनि आफूलाई साथ रहेको उनले जनाए ।

नेपालको कृषि क्षेत्र आयातमुखी भएको उल्लेख गर्दै आफूले यसलाई निर्यातमुखी बनाउनका लागि पहल गर्ने उनको भनाइ छ ।

प्रधानले एक महिनापछि स्वतः अध्यक्ष बन्न लागेका शेखर गोल्छोको समर्थनमा बरिष्ठ उपाध्यक्ष घोषणा गरेको जानकारी दिए । प्रधान हाल उपाध्यक्ष छन् । प्रधानलाई गोल्छाले उपाध्यक्ष मनोनित गरेका थिए । महासंघको बरिष्ठ उपाध्यक्षमा प्रधान र चन्द्र ढकालबीच प्रतिष्पर्धा हुँदैछ ।

ढकाललाई अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठले समर्थन गरेका छन् । महासंघको संशोधित विधानअनुसार बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुनेछन् । महासंघका तीन खालका सदस्य छन् । एउटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघ, दोस्रो वस्तुगत संघ र तेस्रो एशोसिएट सदस्य ।

महासंघको ७७ जिल्लाको १०५ जिल्ला तथा नगर उद्योग बाणिज्य संघ छन् र यी सदस्यको मतको भार कुलमा ५० प्रतिशत छ । वस्तुगतमा १ सय ३ सदस्य छन्, उनीहरुको मतभार २० प्रतिशत र एशोसिएटमा ९ सय ३२ सदस्य छन् । उनीहरुको मतभार ३० प्रतिशत छ ।

प्रधानले आफू युवाकै नेतृत्व गरेर यहाँसम्म आईपुगेको उल्लेख गर्दै युवालाई उद्यमशिलता दिने बताए ।

उनले भने,‘युवाहरुले एकैचोटी ठूलो सपना देख्नुहुँदैन् । अहिलेसम्म जो जो सफल भएका छन्, उनीहरुको श्रीगणेश साना उद्योगबाट भएको हो ।’

उनले कृषिमा आधुनिकीकरण गर्ने आफ्नो सोच रहेको सुनाए । उनले भने,‘कृषिमा युवालाई संलग्न गराएर उनीहरुलाई उद्यमी बनाउनुपर्छ ।’

उनले युवा पुस्तालाई देशभित्रै सक्षम बनाउनुपर्ने तर्क गरे । नेपालमा पर्यटन, कृषि, हाईड्रोमा अपार सम्भावना रहेको सुनाउँदै युवा पुस्तालाई यसमा संलग्न गराउनुपर्नेमा उनको जोड थियो ।

उनले युवालाई विदेश पलाउन हुनबाट रोक्नुपर्नेमा पनि जोड दिए ।

उनले भने,‘हामीले युवालाई देशमा राम्रो वातावरण दिन सकेका छैनौं । हामीले युवालाई राम्रो सम्मान दिन सकेका छैनौ. । नेपालमा प्रशस्त अवसर छन् ।’

उनले देशको आर्थिक विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको सुनाउँदै सरकारले भने उचित सम्मान नदिएको गुनासो पोखे ।


पुष्प दुलाल