पर्यटनमन्त्रीको योजनाः ग्रेटर लुम्बिनी, डेजी ल्यान्ड र क्यासिनो जाने हुँदै रोयल्टीको एकीकृतद्वारसम्म
काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटन विकासका लागि एक दशकको खाका कोर्नुपर्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सन् २०३० सम्मका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।
उनका अनुसार पर्यटन मन्त्री भट्टराईले यसका लागि ग्रेटर लुम्बिनीसहितको दीर्घकालीन योजना अनुसार काम गर्न निर्देशन दिएका छन् ।
७ वटै प्रदेशका सचिव, महानगरपालिकाका प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले लुम्बिनीलाई ग्रेटर लुम्बिनीका रुपमा विकास गर्न निर्देशन दिए ।
अहिले सीमित क्षेत्रमा मात्रै लुम्बिनी फैलिएको छ, अब तिलौराकोट र भैरहवा विमानस्थललाई समेत समेटी ग्रेटर लुम्बिनी बनाउन निर्देशन दिए । उनले अहिले एक दिन मात्रै बस्ने पर्यटक त्यसपछि ३ दिनदेखि ७ दिनसम्म बस्न सक्ने बताए ।
त्यस्तै मन्त्री भट्टराईले पहाडमा ‘हिल स्टेसन’, तराईमा ‘ओसन पार्क’ र ‘डेजी ल्यान्ड’ जस्ता आयोजना निर्माणमा गर्न सकिने बताए ।
साथै, पर्यटक आकर्षित गर्नका लागि काठमाडौंलगायतका ठाउँमा क्यासिनो जोन बनाउन सकिने बताए ।
‘होटलै पिच्छे क्यासिनो चाहिन्न, त्यसका लागि क्यासिनो जोन बनाउन सकिन्छ, काठमाडौंलगायतका स्थानमा क्यासिनो जोन बनाउन सकिन्छ,’ उनले भने ।
पछिल्लो समय पर्यटकलाई विभिन्न क्षेत्रमा रोयल्टी लिने समस्या आइसकेको भन्दै त्यसलाई व्यवस्थित गर्नका लागि एकीकृत रुपमा रोयल्टी संकलन गर्न सकिने बताए । यसका लागि तीन वटै तह मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।