भिस्तरा एयरलाइन्सको नयाँ दिल्ली काठमाडौं उडान शुरु, यात्रुलाई फाइदा



काठमाडौं । भारतको भिस्तरा एयरलाइन्सले नयाँ दिल्ली काठमाडौं उडान शुरु गरेको छ । काठमाडौं नयाँ दिल्ली रुटमा एयरलाइन्सको प्रतिस्पर्धा थपिएको छ । सो रुटमा उडान गर्ने जेट एयरवेयज बन्द भएपछि हवाई भाडा केही समय महंगो भएको थियो । प्रतिस्पर्धा थपिएको हुँदा यात्रुले कम मूल्यमा सो रुटमा हवाई यात्रा गर्न सक्छन् ।

भिस्तराले मंगलबारदेखि दिल्ली काठमाडौं उडान शुरू गरेको हो । कम्पनीका प्रमुख व्यापारिक अधिकृत विनोद कन्ननले भारतको एक मात्र पाँचतारे हवाई सेवा कम्पनीले नेपालमा सेवा विस्तार गरेको बताए ।

भारतको टाटा ग्रप र सिंगापुरको सिंगापुर एयरलाइन्सको सयुक्त लगानीमा भिस्तरा एयरलाइन्स शुरु भएको हो । पछिल्लो समय भारतमा आक्रामक ढंगले व्यवसाय विस्तार गरेको कम्पनी भिस्तरा हो ।

यो कम्पनीमा टाटा समूहको ५१ र सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको कम्पनीले जनाएको छ । यो कम्पनीले जनवरी २०१५ देखि हवाई सेवा शुरू गरेको हो । छोटो समयमा कम्पनीले आन्तरिकतर्फ विभिन्न ३१ सहर र अन्तर्राष्ट्रियतर्फ ५ वटा गन्तव्यमा सेवा दिइरहेको कन्ननले बताए । भिस्तराले नयाँ दिल्ली काठमाडौंमा प्रत्येक दिन एउटा उडान गर्नेछ ।


क्लिकमान्डु