नेपाल एयरलाइन्सले फागुनदेखि जापानको नारिता उडान गर्दै, दुईतर्फी भाडा ७३ हजार



काठमाडौं । नेपाल वायुसेवा निगमले फागुन १९ गतेदेखि जापानको नारितामा उडान गर्ने भएको छ । चीनमा फैलिएको कोरोना भाइरसका कारण चीनको ग्वान्जाओमा हुने भनिएको उडान ३ महिनापछि धकलिएपछि नारितामा उडान शुरु गर्न लागेको हो ।

निगमका अनुसार नारितामा सातामा ३ दिन सिधा उडान हुनेछ । एयरलाइन्सले हाल जापानको ओसाकामा उडान गर्दै आएको छ । ओसाका उडानमा ठूलो घाटा बेहोरेको निगमले नारिताको उडान फलदायी हुने अपेक्षा गरेको छ ।

नेपाल एयरलाइन्सको एयरबस वाइडवडीबाट गरिने सिधा उडान सोमबार, बुधबार र शुक्रवार हुनेछ । बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने उडान तालिका छ ।

निगमका अनुसार हालका लागि प्रवद्र्धनात्मक भाडाडर अन्तर्गत काठमाडौं-नारिताका लागि एकतर्फी ३७ हजार रुपैयाँ र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५ केजीका दरले २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३ केजीका दरले २ वटा व्यागेजको सुविधा पाउने छन् ।

नारिताको उडान प्रारंभ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झंझट समेत समाप्त हुने निगमको अपेक्षा छ ।


क्लिकमान्डु