विश्वस्तरीय खेलाडीले सगरमाथा क्षेत्रको गोक्यो तालमा आइस हक्की र स्केटिङ खेल्ने



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विश्वस्तरीय हक्की र स्केटिङ खेलाडीले सगरमाथा क्षेत्रको गोक्यो तालमा आइस हक्की र आइस स्केटिङ खेल खेल्ने भएका छन् ।

फेब्रुअरी १४ मा खेल खेल्नका लागि विश्वका विभिन्न देशबाट विश्वस्तरीय खेलाडी नेपाल आइसकेका छन् । खेलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटक ल्याउनका लागि खेल महत्वपूर्ण हुने बताए ।

‘भ्रमण वर्ष शुरुवात मात्रै हो, हामी दीर्घकालिन रुपमा पर्यटक नेपाल आउन भन्ने उद्देश्यले हरेक महिना कम्तीमा एउटा नयाँ पर्यटकीय गन्तव्य खोजी गरिरहेका छौं, आइस हक्की र आइस स्केटिङ पनि त्यसैमध्येको एक हो,’ उनले भने ।

४ हजार ७९० मिटर उचाइमा रहेको गोक्यो ताल सोलुखुम्बु जिल्लामा हुने खेल विश्वको सबैभन्दा अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हो ।

रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमतल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मुख्य रोजाइको क्षेत्र पनि हो ।

सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ । यो खेलहुनु पूर्व अमेरिकी विशेषज्ञहरुले ३ सातासम्म स्थलगत अध्ययन गरी यो क्षेत्र खेलका लागि उपयुक्त भएको निश्कर्ष निकालिएको हो ।

गोक्यो क्षेत्रमा ६ वटा मूख्य तालहरु छन् । सन् २००७ देखि गोक्यो ताल रहेको ७ हजार ७७० हेक्टर क्षेत्रलाई रामसार क्षेत्रका रुपमा घोषणा गरिएको थियो । गोक्यो क्षेत्रमा हुन लागेको आइस स्केटिङ र आइस हक्की प्रतियोगितामा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानको समेत सहयोग छ ।

नेपालीले समेत नियमित अभ्यास गर्न सकुन भनेर अमेरिकास्थित ग्राफ स्केटर्सले ३१ वटा स्केटच सुज समेत सहयोग गरेको छ । त्यस्तै, अमेरिकाकै स्क्रिन प्रिन्टिङ एन्ड कस्टम अपेरियलले हक्कीका लागि जर्सी र कप सहयोग उपलब्ध गराएको छ ।


क्लिकमान्डु