देउवाले प्रधानमन्त्रीलाई भने- लोकतन्त्रबारे राम्रो कुरा गर्नु भयो, अब प्रतिकुल विधेयक पनि हटाउनुहोस्



काठमाडौं । प्रतिपक्ष दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको निकै राम्रो कुरा गरेकोमा प्रशंसा गर्दै लोकतन्त्र विरोधी विधेयक हटाउन माग गरेका छन् ।

मंगलबार संसदमा बोल्दै देउवाले केही विधेयक लोकतन्त्रका लागि प्रतिकुल रहेको भन्दै ती विधेयक हटाउन माग गरे ।

‘जसमा प्रेस स्वतन्त्रता छ, प्रेस स्वतन्त्रता बिना मानवअधिकार र लोकतन्त्र सफल हुँदैन, जहाँ प्रेसमा नियन्त्रण हुन्छ त्यहाँ लोकतन्त्र चल्न सक्दैन, निर्वाध प्रेस लोकतन्त्रका लागि आवश्यक कुरा हो,’ उनले भने ।

देउवाले टेलिफोन ट्यापिङ जस्ता प्रावधानहरु गोपनीयताको हकका विरुद्ध भएकाले त्यसलाई हटाउन समेत माग गरे ।

‘व्यक्तिगत स्वतन्त्रतामा रोक लगाउने कुरा विश्वमा कहीँ नभएको नेपालमा आउन थालेको छ, त्यसैले यस्ता विधेयकलाई पास हुन दिनुहुँदैन, रोक्नुपर्छ,’ उनले भने ।

तर एमसीसी पारित गर्ने विषयमा ओली र देउवाले भने एकै मत व्यक्त गरे । संसदमा प्रधानमन्त्री ओली र देउवाले एमसीसी देशको विकास हितमा भएकाले एमसीसी पारित गर्नुपर्नेमा जोड दिए ।

एमसीसीले नेपाललाई निकै ठूलो सहयोग भएको उल्लेख गर्दै पारित गर्नुपर्नेमा जोड देउवाले जोड दिए ।

‘नेपालको विद्युत विदेशीलाई बिक्री गर्ने हो भने एमसीसी पारित गर्नुपर्छ, अमेरिकाको सहयोगमा भारतले पनि सहयोग गरेको छ, चीनले कुनै आपत्ति जनाएको छैन, अब पारित गर्नुपर्छ’ देउवाले भने ।


क्लिकमान्डु