सेयर लगानीकर्तालाई ऋण दिन बैंकहरु आक्रामक, बियरिस ट्रेण्ड सकिएको संकेत
काठमाडौं । झण्डै ४३ महिनापछि सेयर बजार बुलिस ट्रेन्डमा गएको छ । यतिबेला सेयर बजारमा बियरिस साइकल सकिएर पुस मसान्तपछि बुलिस साइकलमा उक्लेको पनि चर्चा सुरु भएको छ ।
अघिल्लो साताबाट सेयर बजारमा देखिएको सुधारसँगैै अब सेयर बजारमा बियरिस साइकल सकिएर बुलिसल साइकल शुरु भएको जानकार तथा लगानीकर्ताहरुको भनाइ छ ।
साताको पहिलो दिन आइतबार नेप्से मापन गर्ने सूचक र कारोबार रकम यो वर्षको सबैभन्दा बढी भएको छ । नेप्से मापन गर्ने सूचक १३४३.६५ बिन्दुमा पुग्दा कारोबार रकम २ अर्ब ९ करोड ८७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
यसरी बजार बढ्नुलाई लगानीकर्तामा बजारप्रति सकारात्मक भावना जागेको बताउँछन, नेपाल इन्भेष्टर फोरमका महासचिव राजन लम्साल । लगानीकर्ताको मनोबलका कारण बजारको विकास भएको उनको भनाइ छ ।
लगानीकर्तामा अब बजारप्रति सकारात्मक भावना आएको छ र योसँगै लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडको कार्यकाल सकिएको पनि बुझ्न थालेका छन् ।
अर्थमन्त्री डा. खतिवडा फेरि दोहोरिदैँनन्, अब जो अर्थमन्त्री आँउछ, उ बजारको विकासको हित गर्ने खालको आउँछ,’ उनले भने ।
बजार घटेको समयमा कोही पनि वास्था नगर्ने परिपाटी पनि विकास भएको उनको भनाइ छ । यतिबेला बजारमा आउने लगानीकर्ताको लागि पैसाको पनि अभाव नभएको उनको तर्क छ ।
‘अहिले बैंकले सजिलोसँग ऋण दिने गरेका छन्, २ दिनमा ऋण पाउन सकिने अवस्था छ । कतिपय अवस्थामा त बैंकहरुले ब्रोकरकहाँ पुगेरै तपाई ऋण तिर्न सक्ने मान्छे लौ ऋण लिनुहोसभन्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।
उनका अनुसार पहिले १५ प्रतिशत पाइने ऋण अहिले १२ प्रतिशतमा झरेकाले लगानी लगानीकर्तामा आशा जागेको छ ।
सेयर किनेर त्यसले बैंकबाट ऋण निकालेर ब्रोकरकोमा तिर्न थालेको उनको भनाइ छ । अबको अवस्थामा बजारमा सामान्य करेक्सन भए पनि गिरावट नआउने उनले बताए ।
बजारमा ५० अंकले बढेको समयमा २० अंकले घटेपनि पुन ३० अंकले बढ्ने लम्सालको भनाइ छ । पहिले धेरै घट्ने र थोरै बढ्ने हुने गरेकोमा अब धेरै बढ्ने र घटेको खण्डमा थोरै घट्ने अवस्था देखिएको लम्सालले बताए ।
ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकको सेयर बजार जुर्मुराउन थालेपछि लगानीकर्ता ऋण लिन आउने क्रम बढेको बताउँछन् ।
उनका अनुसार बजारमा लगानीयोग्य रकम निकै छ । उनले भने अन्य क्षेत्रमा कर्जाको माग कम छ । अन्य क्षेत्रमा कर्जाको माग नभएका कारण बैंकहरुलाई ऋण कता दिने भनेर बसेको समयमा सेयर धितो कर्जामा ऋण दिन थालेका हुन ।
यो बेला बिकास बैंकहरुले १२/१२.५, वाणिज्य बैंकले ९.५/१० प्रतिशतमा समेत ऋण दिन थालेका छन् ।’ बैंकहरुले ऋण दिन पहिला भन्दा सहज भएको उनको भनाइ छ ।
यतिबेला बजारले बेसलाई टेकी सकेको छ । इपीएस, लाभांश राम्रो भएको कारण पनि बजारमा सुधार आएको देख्न सकिने सीइओ ज्ञवालीको भनाइ छ ।
अर्का एक लगानीकर्ताका अनुसार धेरै कम्पनीको सेयर मूल्य साधारण सेयरभन्दा कम भएको अवस्थामा केही सुधार आएको हो । लामो समय गिरावट आएको बजारमा अहिलेको जस्तो धेरै अंकले सुधार देखिनुभन्दा पनि १५/१८ अंकले बजार बढ्ने, कुनै दिन थोरै घट्ने अर्को दिन बढ्दै गएको खण्डमा लगानीकर्ताको मनोबलमा कमजोर नबन्ने उनको उनको भनाइ छ ।
नेप्सेले मार्जिन लेन्डिङ कार्यविधि संशोधन गर्न लागेको छ । त्यो समयमा नै आएको खण्डमा बजारमा पैसा झनै धेरै भित्र्ने लगानीकर्ताको भनाइ छ । अहिले बैंकबाट सेयर धितोकर्जा लिँदा ६५ प्रतिशत पाउने, ब्रोकरबाट लिँदा ५० प्रतिशत मात्रै पाउने, बैंकले जुनसुकै कम्पनीलाई पनि ऋण दिने तर ब्रोकरले चाँही नेप्सेको सर्ट लिस्टमा परेका कम्पनीलाई मात्रै ऋण दिने व्यवस्था भएकोले त्यो हटाउनका लागि कार्यविधि संशोधन हुने क्रममा रहेको छ ।
यो संशोधन भएपछि ब्रोकरको पैसा पनि बजारमा जाँदा आगामी दिनमा बजारमा निकै सुधार देखिने लगानीकर्ताको भनाइ छ । यसले छोटो अवधिका लगानीकर्ताका लागि मनोबल बढाउने, बजारलाई चलायमान बनाउने र बजारको कारोबार रकम पनि बढ्ने ती लगानीकर्ताको तर्क छ ।
तरलता, कर, प्यान जस्ता समस्या अब बजारमा नभएकाले आगामी दिनमा बजारमा गिरावट आउने सम्भावना नभएको ती लगानीकर्ताको भनाइ छ । गत वर्ष पनि १३२१ बिन्दुमा पुगेको बजार यस्तै प्राविधिक कारण बजार घटेको र अहिले बजार घट्न त्यस्ता कुनै कारण नरहेको लगानीकर्ताको भनाइ छ ।