जनही १ हजार जरिवाना गराएर १२२ चिनियाँलाई आज चीन डिपोर्ट गरिँदै
काठमाडौं । पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई आज निष्काशन गरिने भएको छ । अध्यागमन विभागका अनुसार आज साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको हो ।
नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही १ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अभद्र व्यवहारमा अधिकतम रु १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।
त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा १ हजार रुपैयाँ र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई २ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । चिनियाँ नागरिकलाई निःशुल्क प्रवेशाज्ञामा पाँच महिनासम्म म्याद रहन्छ । त्यसपछि उनीहरुले प्रवेशाज्ञा थपेर बस्न सक्छन् ।
ुउनीहरुको रुजु गर्नेदेखि जरिवाना तिराउने काम सबै मङ्गलबार नै सकिएको छ, आज साँझ उनीहरुलाई फिर्ता पठाइन्छु, विभागका अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले भने ।
उनीहरुको सबै पैसा दूतावासले बुझाएको जनाइएको छ । उनीहरुलाई अध्यागमन ऐन २०४९ को नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ मा टेकेर सो निर्णय गरिएको हो । ऐनमा कसुरको प्रकृतिअनुसार ५० हजार रूपैयाँसम्म जरिवाना वा ५वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
विभागका अनुसार ३४ जनाको भने प्रवेशाज्ञा सकिएको फेला परेको छ । नेपालस्थित चिनियाँ राजदूतावासले उनीहरुको सबै प्रवेशाज्ञा ९भिसा० रद्द गरेको छ । उनीहरुलाई आज ट्राभल डकुमेन्ट बनाएर स्वदेश फिर्ता गरिँदै छ ।
आज साँझ चीनबाटै आउने दुई विमानमार्फत फिर्ता पठाउन लागिएको विभागले जनाएको छ । प्राप्त जानकारीअनुसार एउटामा ४२ र अर्को विमानमा ८० जना जानेछन् ।
चिनियाँ नागरिकले पर्यटक भिसामा आएर अवैधरुपमा सङ्गठित काम गरेका थिए । उक्त काम गरेको स्वयं उनीहरुले स्वीकार गरेका काठमाडौंका प्रजिअ दाहालले बताए ।