रविलाई गगनले भने: तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको बताएका छन् ।

आइतबारदेखि सुरू भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा सामाजिक सञ्जाल फेसबूकमार्फत शुभकामना व्यक्त गर्दै थापाले यस्तो बताएका हुन् ।

आइतबार र सोमबार रास्वपाको महाधिवेशन चितवनमा हुँदैछ ।

उनले रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै थापाले लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय रहेको लेखेका छन् ।

उनले भनेका छन्,’यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो ।’

यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको थापाले बताएका छन् ।