इलक्ट्रोनिक्स बेच्ने चौधरी ग्रुपको दुई कम्पनीले ६ महिनामा गरे १ अर्ब ११ करोड रुपैयाँको व्यापार


काठमाडौं । चौधरी ग्रुपका दुई कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब ११ करोड २० लाख रुपैयाँको कारोबार गरेका छन् । ग्रुपको ईओएल र सीजी इलेक्ट्रोनिक्सले ६ महिनाको अवधिमा १ अर्ब ११ करोड रुपैयाँको कारोबार गरेका हुन् ।

ग्रुपको दुई कम्पनीले विभिन्न ब्रान्डका विद्युतीय घरायसी सामग्री बिक्री वितरण गर्दै आएका छन् । ग्रुपको इओएलले चालु आवको ६ महिनाको अवधिमा ९६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ भने सीजी इलेक्ट्रोनिक्सले १४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।

सन् २००९ मा स्थापना भएको ईओएलले गत आवमा २ अर्ब १८ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब ८५ करोड रुपैयाँ, सन् २०२३ मा १ अर्ब ७४ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब १ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनी नेपालका लागि गोदरेज ब्रान्डको विद्युतीय सामग्री र घरायसी सामग्रीको आधिकारिक विक्रेता हो । कम्पनी टीसीएल, केन्ट र इलिका ब्रान्डको घरायसी सामग्रीको आधिकारिक विक्रेता पनि हो । साथै, कम्पनी सीजी र सेन्सेई ब्रान्डको राष्ट्रिय डिलर पनि हो ।

चालु आवको ६ महिनाको अवधिमा ईओएलको नाफा मार्जिन ११ प्रतिशत गरेको छ । गत आवको सोही अवधिमा सञ्चालन नाफा १३ प्रतिशत थियो । कम्पनीको चालु आवको ६ महिनाको अवधिसम्ममा गियरिङ ०.८ गुणा रहेको छ । साथै, कम्पनीको कभरेज सूचकहरु पनि सहज अवस्थामा रहेका छन् । कम्पनीको ६ महिनाको अवधिमा ब्याज कभरेज अनुपात ५.१ गुणा तथा ऋण सेवा कभरेज अनुपात २.१ गुणा रहेको छ । अर्थात् ऋणको किस्ताभन्दा कम्पनीको सञ्चालन नाफा २.१ गुणा र ब्याजभन्दा सञ्चालन नाफा ५.१ गुणा रहेको छ ।

कम्पनीको देशभर एक हजारभन्दा बढी डिलर तथा वितरक छन् । साथै, कम्पनीको आफ्नै २८ वटा शाखा छन् ।

कम्पनीमा ९९ प्रतिशत स्वामित्व निर्वाण चौधरीको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७९ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७० करोड रुपैयाँको रेटिङ गराएको हो ।

त्यसैगरी, सन् १९९८ मा स्थापना भएको ग्रुपको अर्को कम्पनी सीजी इलेक्ट्रोनिक्सले चालु आवको ६ महिनाको अवधिमा १४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा ७० करोड ३० लाख रुपैयाँ, सन् २०२४ मा ६९ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा ५४ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा १ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको कारोबार चालु आवमा उच्च दरले घटेको छ । गत आवको भदौमा भएको जेन्जी आन्दोलनका कम्पनीको गोदाम तथा एसेम्बल प्लान्टमा तोडफोड हुँदा सम्पूर्ण आपूर्ति श्रृङ्खलामा असर पारेको थियो । जसले गर्दा व्यापार घटेको कम्पनीको भनाइ छ । साथै, नाफा मार्जिन पनि घटेको छ । सोहीअनुसार ऋण कवरेज सूचकहरु पनि कमजोर भएका छन् । कम्पनीको चालु आवको ६ महिनाको अवधिमा ब्याज कभरेज अनुपात १.७ गुणा रहेको छ । गत आवको साही अवधिमा ६.३ गुणा थियो । साथै, ६ महिनाको अवधिमा ०.६ गुणा गियरिङ अनुपात रहेको छ ।

कम्पनी एलजी ब्रान्डको एलईडी टीभी, सीजी, तोशिबा, सेन्सेई र टीसीएल ब्रान्डको आधिकारिक आयातकर्ता र एसेम्ब्लर हो । कम्पनीमा निर्वाण चौधरीको ५२ प्रतिशत हिस्सा रहेको छ भने एपोलो स्टिल्सको ४७ प्रतिशत र सारिका चौधरीको १ प्रतिशत स्वामित्व छन् । कम्पनीले अल्पकालीन कर्जाका लागि ६६ करोड रुपैयाँ रेटिङ गराएको छ ।