राष्ट्र बैंकले एटीएमबाट निकाल्न पाउने रकमको सीमा बढायो, २४सै घन्टा सेवा दिन ‘हेल्पडेस्क’ राख्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गरी निकाल्न पाउने रकमको सीमा ५ हजार रुपैयाँले बढाएको छ ।

यसअघि एक पटकमा २० हजार रुपैयाँ मात्रै निकाल्न पाइने व्यवस्था भएकोमा अब २५ हजार रुपैयाँ निकाल्न पाउने व्यवस्था गरेको हो । एक दिनमा भने १ लाख रुपैयाँसम्म निकाल्न पाइनेछ ।

गत भदौमा चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको एटीएम प्रयोग गरी करोडौं रुपैयाँ लुटपाट गरेपछि राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको थियो ।

त्यतिमात्रै होइन राष्ट्र बैंकले प्रत्येक एटीएम बुथमा सेक्युरिटी गार्ड राख्न पनि निर्देशन दिएको थियो । सेक्युरिटी गार्ड राख्नुपर्ने निर्देशनको सरोकारवालाहरुले व्यापक आलोचना गर्दै कार्यान्वयनमा अटेर गर्दै आएपछि राष्ट्र बैंक ब्याक भएको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार एकीकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘एटीएमबाट कम रकम निकाल्न पाउने व्यवस्था गर्दा ग्राहकलाई असुविधा पुगेको थियो, त्यसैले अहिले सीमा बढाएका हौं,’ भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले क्लिकमाण्डूसँग भने ।

एकीकृत निर्देशिकामार्फत् सुरक्षामा विशेष जोड दिँदै सीमा बढाइएको हो । सिसिटिभीबाट निगरानी बढाइने भएकाले सुरक्षा गार्ड हटाइएको मिश्रले बताए ।

राष्ट्र बैंकको निर्देशिका अनुसार प्रिपेड कार्डबाट न्यूनतम ५ सय र अधिकतम प्रतिकारोबार २५ हजार रुपैयाँसम्म निकाल्न मिल्छ ।

यस्तै डेबिट कार्डबाट प्रतिकारोबार न्यूनतम ५ सय र अधिकतम २५ हजार रुपैयाँ निकाल्न मिल्छ भने एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न मिल्छ । यसअघि एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न मिल्थ्यो ।

त्यसैगरी, क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भए पनि अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न सकिने व्यवस्था गरिएको मिश्रले जानकारी दिए ।

राष्ट्र बैंकका अनुसार प्रिपेड कार्ड जारी गर्दा एकपटकमा अधिकतम १ लाख रुपैयाँसम्मको कार्ड जारी गर्न सकिनेछ ।

त्यसैगरी, विदेशबाट पठाएको र आन्तरिक रेमिट्यान्स दैनिक ६० हजार रुपैयाँसम्म मात्रै भुक्तानी गर्न पाउने व्यवस्थालाई पनि बढाएर राष्ट्र बैंकले १ लाख रुपैयाँ पुर्याएको छ ।


पुष्प दुलाल