प्राधिकरण टुक्राउने विषयमा कर्मचारीसँग घोचपेचपछि मन्त्रीले भने- कन्भिन्स गर्नुहोस् विधेयक रोक्छु



काठमाडौं । नागारिक उड्डयन प्राधिकरणले मंगलबार आफ्नो २१औं वार्षिक उत्सव मनायो । विहान ८ बजे आर्मी अफिसर्स क्वलमा आयोजित कार्यक्रममा सबैभन्दा शुरुमा स्वागत मन्तव्यका लागि प्राधिकरणका कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवण कुमार डायसमा बोल्न आए ।

शुरुमा केही शब्द राम्रा बोलेपछि उनी प्राधिकरण टुक्राउने विषयलाई लिएर झण्डै आधा घण्टा कुण्ठा पोखे । कुनै पनि हालतमा प्राधिकरण टुक्रन नदिने र त्यसका लागि आफूहरु जेल जान समेत तयार रहेको बताए ।

मञ्चमा आसिन पर्यटनमन्त्री योगेश भट्टराई, सचिव केदारबहादुर अधिकारी, वायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा र प्राधिकरणका महानिर्देशक राजन खनाल थिए । श्रवणले सबैलाई लक्षित गर्दै कुनै पनि हालतमा प्राधिकरण टुक्राउन खेलमा लाग्न नदिने बताए ।

उनले एउटै कुरालाई पटक–पटक दोहोर्याउँदै आफूहरु विगत १५ दिनदेखि आन्दोलनमा रहेको र टुक्राउने विषयबाट सरकार पछाडि नहटे थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनी दिए ।

उनले गत आइतबारदेखि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको र हालसम्म ४०० हस्ताक्षर संकलन भइसकेको भन्दै तालाबन्दीसम्म गर्न पछि नपर्ने बताए ।

उनको चर्को भाषण सुनेर आजित भएका मन्त्री भट्टराईले पनि मनभरीको जवाफ एक-एक गर्दै फर्काए ।

‘कुनै पनि हालतमा तालाबन्दी गर्नु हुँदैछ, तालाबन्दीले समस्या समाधान हुँदैन, यसलाई जनताले पनि मन पराउँदैनन् । तलाईहरुले भन्दा बढी मैले तालाबन्दी गरेर यहाँसम्म आएको हुँ, जायज कुरा छ भने आउनुहोस् बहस गरौं तर्कले जित्नु भयो भने मानौंला, अन्यथा आन्दोलन गर्नुहो औचित्य छैन,’ मन्त्री भट्टराईले भने ।

उनले शक्ति पृथकिकरणको आधारमा प्राधिकरणलाई नियमन र सेवाप्रदायकका हिसाबले टुक्राउन खोजिएको भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । अहिले युरोपियन युनियनले कालोसूचीमा राखेको विषयलाई समेट्दै टुक्राउँदा कालोसूचीबाट हट्न सहयोगी पुग्ने बताए ।

प्राधिकरण टुक्राउँदा कर्मचारीहरुलाई सेवा सुविधा कम हुन्छ कि भन्ने चिन्ता भएको भए त्यसमा खाइपाइ आएको सुविधामा कुनै पनि सुविधा कटौती नहुने स्पष्ट पारे । साथै, संस्था रुपान्तरण गर्नु भनेको यसलाई बिगार्न नभइ यसलाई अझ राम्रो बनाउनु हो भन्दै कुनै पनि हालतमा यसमा बाधा नपुर्याउन चेतावनी दिए ।

मन्त्री भट्टराईले यदि आन्दोलनका क्रममा कुनै पनि क्षति भयो भने कानून बनाएर क्षति पुर्याउनेलाई नै क्षतिपूर्ती गराउन सकिने बताए । उनले त्यस प्रकारको कानून आवश्यक समेत रहेको बताए ।

निजगढ र भैरहवास्थित विमानस्थल विदेशी कम्पनीलाई दिन लागेको विषयमा कर्मचारी संघका अध्यक्ष श्रवण कुमारले निजीकरण गर्न लागिएको भन्दै आक्रोश व्यक्त गरेपछि मन्त्री भट्टराईले जवाफ दिँदै कुनै विदेशी कम्पनीलाई जिम्मा दिनु निजीकरण हो भन्ने बुझाइ कुन अर्थशास्त्रमा पढ्नु भयो भन्दै प्रतिप्रश्न गरे ?

भट्टराईले आजको चीनले पनि सोही अनुसारले विकास गरेको उल्लेख गर्दै गलत नियतले काममा बाधा नपुर्याउन आग्रह गरे ।

मन्त्रीले भाषण अन्त्य गर्दै भने– आज संस्थाको जन्मदिन हो, यस दिनमा सबैले मीठो बोलौ, मीठो खाऔं, मीठो गरी काम गरौं तर संस्था बिगार्नका लागि कात्रो बोकेर नआऔं ।


क्लिकमान्डु