‘३५ वर्षमा ३५ सरकार बने पनि २०४८ मा कांग्रेस नेतृत्वको आर्थिक रुपान्तरणमै मुलुक अगाडि बढ्यो’

77
Shares

नेपाल यतिबेला एउटा ऐतिहासिक मोडमा उभिएको छ । हालैको ‘जेन जी’ अर्थात् नयाँ पुस्ताको मुभमेन्ट केवल एउटा भीडको प्रदर्शन मात्र थिएन, यो त दशकौंदेखि नेपाली समाजभित्र गुम्सिएर रहेको पीडा, आक्रोश र एउटा सुन्दर भविष्यको तीव्र पुकार थियो ।

यस आन्दोलनमा लाग्नेहरू र प्रदर्शनका क्रममा ज्यान गुमाउने सहिद युवाहरूको एउटै पवित्र चाहना थियो । त्यो हो, नेपालभित्रै योग्यताको कदर होस्, गरिखाने वातावरण बनोस् र राजनीतिमा ‘काखा र पाखा’ गर्ने प्रवृत्तिको अन्त्य होस् ।

नेपाल जस्तो प्रकृतिको धनी राष्ट्र सबैको सामु एउटा अत्यन्त विकसित राष्ट्रका रुपमा उभिन सकोस् भन्ने पवित्र भावनाका साथ त्यो सुरु गरिएको आन्दोलन त्यो केवल ती जेनजीको आत्माको मात्र पुकार थिएन।

विगत ३५ वर्षको राजनीतिक इतिहासलाई फर्केर हेर्दा हामीले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ । यो साढे तीन दशकमा १ करोडभन्दा बढी नेपाली युवाहरू रोजगारीका लागि विदेशी भूमिमा पसिना बगाउन बाध्य भए ।

यसले प्रत्येक घर र परिवारमा एउटा कहिल्यै निको नहुने घाउ र पीडा दिएको छ । व्याप्त भ्रष्टाचार, उद्योग-व्यवसायमा देखिएको विसंगति र असफलताको पृष्ठभूमिमा जेनजी जनलहर सिर्जना भएको रहेछ । वास्तवमा, ३५ वर्षको दौरानमा हामीले बाटो बिराएकै रहेछौं ।

आन्दोलनका क्रममा कतिपय भौतिक क्षति भए, नेताका घरहरूमा प्रहार भए, जसको पीडा हामीले पनि भोग्यौं । तर, भौतिक क्षतिभन्दा ठूलो कुरा हाम्रो राजनीतिक बाटोको दिशाभ्रम हो । हामीले एउटा यस्तो पद्धति निर्माण गर्नै सकेनौं, जहाँ सिर्जनाशील र प्रतिभावान युवाहरूका लागि ढोका सधैं खुला रहोस् ।

अबको समय नेपाली कांग्रेसका लागि एउटा अग्निपरीक्षा हो । विशेषगरी पार्टीका दुवै महामन्त्रीहरूको काँधमा आज एउटा ऐतिहासिक जिम्मेवारी आएको छ ।

देशभरका कार्यकर्ता र आम जनताले जुन उत्साह र जोस देखाएका छन्, त्यसलाई एउटा निर्णायक बिन्दुमा पुर्‍याउनु आवश्यक छ । यसका लागि अबको निर्वाचनमा नेपाली कांग्रेसले कमसेकम ५० प्रतिशत नयाँ अनुहारहरूलाई अगाडि सार्नुपर्छ । कांग्रेसले अब आफूलाई ‘जेन जी’ को भावना र चाहनाको प्रतिनिधित्व गर्ने पार्टीका रूपमा उभ्याउन सक्नुपर्छ ।

राजनीतिलाई केवल ‘पेसा’ बनाउनेहरूको दिन अब सकिनुपर्छ । राजनीति त समाजको आमूल रुपान्तरण गर्ने एउटा पवित्र प्लेटफर्म हुनुपर्छ । जो व्यक्ति समाज बदल्ने दृढ संकल्पका साथ अगाडि आउन चाहन्छ, उसलाई खुला हृदयले स्वागत गर्ने वातावरण बन्नुपर्छ । हामीले बिर्सनु हुँदैन कि २०४८ सालमा नेपाली कांग्रेसले नै देशमा आर्थिक रुपान्तरणको जग बसालेको थियो।

त्यसबेलाको नीतिगत परिवर्तनकै जगमा विगत ३५ वर्षमा ३५ वटा सरकार फेरिए पनि देशको अर्थतन्त्र कुनै न कुनै रूपमा टिकिरहेको छ ।

आजको आवश्यकता भनेको पुरानो राजनीतिक त्याग (जेल-नेल र संघर्ष) र आधुनिक अर्थतन्त्रको निर्माण गर्न सक्ने खुबीबीचको बलियो साझेदारी हो । हामीलाई यस्तो नेतृत्व चाहिएको छ, जसले राजनीतिक सक्रियतासँगै अर्थतन्त्रलाई सही दिशा दिन सकोस् र प्रकृतिले दिएका स्रोत-साधनलाई देशको समृद्धिसँग जोड्न सकोस् । युवाहरूले देखेको समृद्धिको सपनालाई सार्थक बनाउन सक्ने प्रतिबद्धता नै अबको कांग्रेसको मूल मन्त्र हुनुपर्छ ।

अन्त्यमा, आज सुरु भएको यो परिवर्तनको ‘रथयात्रा’ लाई बीचैमा अधुरो छोड्नु हुँदैन । धेरै समयदेखि विकासको पर्खाइमा बसेको नेपाललाई अब ढिला गर्ने छुट छैन । यो रथयात्रालाई निर्णायक ठाउँमा पुर्‍याएर एउटा विकसित र समृद्ध राष्ट्र निर्माणको यात्रामा हामी सबै एकजुट हुनुपर्छ । जनताले कष्ट र जोखिम मोलेर जुन भरोसा देखाएका छन्, त्यसको सार्थक प्रतिफल मुलुक र लोकतन्त्रले पाउने निश्चित छ ।

(नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य तथा उद्योगी चौधरीले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश ।)