
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार र संसद्मा रहेकाहरूको कार्यशैलीका कारण जनतामा चरम असन्तुष्टि बढेर सडकमा पोखिएको बताएका छन् ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले भदौ २३ र २४ गते भएको आन्दोलन त्यसैको परिणाम भएको बताएका हुन् ।
महामन्त्री थापाले उक्त आन्दोलन केवल ‘जेनजी’को मात्र नभई देशभरका लाखौँ नरनारीको सामूहिक आक्रोश भएको टिप्पणी गरे ।
‘राजाको छोरा राजा हुने शासन फालेर ल्याएको गणतन्त्रमा ‘नेपो-बेबी’ (शक्तिशालीका सन्तान) हरूको राज देखेपछि नागरिक रिसाएका हुन्,’ उनले भने, ‘जनता हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँ व्याप्त भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन् ।’
आन्दोलनकारीले सरकार र संसद्प्रति आक्रोश पोख्दा ती निकायमा कांग्रेसकै प्रतिनिधित्व रहेको स्वीकार गर्दै थापाले जनगुनासो सम्बोधन गर्न नसक्नु कमजोरी भएको बताए ।
उनले पछिल्लो समय राजनीतिक कार्यक्रमहरूमा यति ठूलो जनसहभागिता र चासो आफूले कहिल्यै नदेखेको उल्लेख गर्दै यसले विशेष महाधिवेशनको औचित्य पुष्टि गरेको दाबी गरे ।
विशेष महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाटै गराउने प्रयास गरे पनि त्यो सम्भव हुन नसकेको थापाको उनको भनाइ छ । उनले पार्टीभित्र आफूहरूले गरिरहेको यो प्रयास शक्ति वा सत्ताका लागि नभएको प्रस्ट पारे ।
‘हामीले शक्ति र पार्टीभित्रको सत्ताका लागि सङ्घर्ष गरेका होइनौँ, यो विचार, मूल्य र मान्यताको सङ्घर्ष हो,’ महामन्त्री थापाले भने, ‘यो महाधिवेशनलाई नाम मात्रको विशेष होइन, काम र निर्णयका हिसाबले पनि विशेष बनाएर छाड्नेछौँ ।’








प्रतिक्रिया