३७४ मेगावाट उर्जा उत्पादनका लागि ६१ अर्ब लगानीको प्रतिवद्धता



काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा स्वदेशी तथा विदेशी लगानीमा सौर्य र जलविद्युत् कम्पनी स्थापनाका लागि २६ वटा कम्पनीले उद्योग विभागमा निवेदन दिएका छन् ।

जसमध्ये २२ वटा स्वदेशी कम्पनी र ४ वटा विदेशी कम्पनी छन् । २२ वटा स्वदेशी कम्पनीमध्ये एउटाले सौर्य उर्जा र २१ वटाले जलविद्युत् कम्पनीमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।

त्यस्तै, ४ वटा विदेशी लगानीका कम्पनीमध्ये २ वटाले सौर्य उर्जा तथा २ वटाले जलविद्युत् कम्पनी स्थापनाका लागि लगानीको प्रतिवद्धता जनाएको उद्योग विभागले जानकारी दिएको छ ।

२२ वटा स्वदेशी कम्पनीले ५० अर्ब रुपैयाँ लगानीमा लगानी गर्नेछन् । ४ वटा विदेशी कम्पनीले साढे ११ अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता गरेका छन् ।

२२ वटा कम्पनीमध्ये एउटा कम्पनीले ९ मेगावाट सौर्य उर्जा र अन्य २१ कम्पनीले २९१ मेगावाट जलविद्युत् उर्जा उत्पादनका लागि उद्योग विभागमा निवेदन दिएका हुन् ।

उद्योगीहरुले सबैमा गरी ४९ अर्ब ९५ करोड ९९ लाख २२ हजार १४४ रुपैयाँ लगानीमा ३०० मेगावाट उर्जा उत्पादन गर्न निवेदन दिएको उद्योग विभागले जानकारी दिएको छ ।

जसमा ८१९ जनाले रोजगारी पाउने उल्लेख छ भने कम्पनीहरुले न्यूनतम १.८ मेगावाटदेखि ४६ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने उल्लेख गरेका छन् ।

साढे ११ अर्ब विदेशी 

त्यस्तै, चालु आर्थिक वर्षको पुस ५ गतेसम्म विदेशी लगानीतर्फ उर्जा क्षेत्रमा ४ वटा कम्पनीले लगानीको प्रतिवद्धता जनाएका छन् ।

उद्योग विभागका अनुसार सौर्य उर्जाका लागि २ र जलविद्युत् उर्जाका लागि २ कम्पनी गरी ४ वटा कम्पनीले कुल ११ अर्ब ४८ करोड २८ लाख ८५ हजार ५२६ रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता जनाएका हुन् ।

जसमध्ये सौर्य उर्जा उत्पादनका लागि यूएईले १० मेगावाट, बेलायतले ५ मेगावाट विद्युत् उत्पादनका लागि निवेदन दिएका छन् ।

त्यसैगरी, जलविद्युत् उर्जाका लागि २ वटा कम्पनी अमेरिकाले २३ मेगावाट भारतले ३६ मेगावाट विद्युत् उत्पादनका लागि उद्योग विभागमा निवेदन दिएको उद्योगको भनाइ छ ।


पुष्प दुलाल