डेभलपमेन्ट बैंकले राष्ट्र बैंकलाई भने- मर्जरका लागि राम्रो जोडी खोज्दिनू



काठमाडौं । आधा दर्जन वाणिज्य बैंकहरुले राष्ट्र बैंकसमक्ष मर्जरका लागि उपयुक्र पार्टनर खोजिदिन आग्रह गरिरहेका बेला डेभलपमेन्ट बैंकहरुले पनि यस्तै आग्रह गरेका छन् ।

करिब आधा दर्जन डेभलपमेन्ट बैंकहरुले मर्जरका लागि उपयुक्त पार्टन खोजिदिन आग्रह गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

‘हालैमात्र मितेरी डेभलपमेन्ट र कञ्चन डेभलपमेन्ट बैंकले मर्जरका लागि उपुयक्त पार्टनर खोजिदिन आग्रह गरेका छन्,’ शिवाकोटीले क्लिकमाण्डूसँग भने, ‘यसअघि पनि करिब आधा दर्जन विकास बैंकले पनि यस्तै भनिसकेका थिए ।’

राष्ट्र बैंकले मर्जर जान दबाब बढाएपछि बैंकहरुले उपयुक्त संस्था खोज्ने जिम्मा राष्ट्र बैंकलाई नै लगाएका हुन् ।

माछापुच्छ्रे सिटिजन्स, सिभिल, सेञ्चुरी, कुमारी, एनसीसी लगायतका बैंकले मर्जरका लागि जोडी खोजिदिन आग्रह गरेका छन् ।

बैंकहरुले नै पार्टनर खोजिदिन आग्रह गरेपछि राष्ट्र बैंकका उच्च अधिकारीहरु जोडी खोजिदिने काममा सक्रिय हुन थालेका छन् । खासगरी केही विकास बैंक र फाइनान्स कम्पनीका सञ्चालक तथा सीइओहरुलाई राष्ट्र ती संस्थासँग मर्ज हुनका लागि सुझाव दिइरहेका छन् ।

पार्टनर खोजिदिन आग्रह गर्ने बैंकले आफ्नो नाम गुमाउन चाहेका छैनन् । उनीहरुले पनि राम्रा विकास बैंक र फाइनान्स कम्पनी पाए मर्ज गरेर आफ्नो अस्तित्व जोगाउने रणनीति बनाएका छन् ।

ग्लोबल र जनता बैंक मर्ज भएर देशकै ठूलो बैंक बनेपछि अन्य संस्थाहरुलाई मर्जरमा जान थप दबाब परेको छ ।

‘ठूलो आकारका बैंकसँग सानो आकारका बैंकलाई प्रतिस्पर्धा गर्न निकै कठीन हुन्छ,’ स्रोतले भन्यो ‘त्यसैले बरु आपसमा मर्ज भएर ठूलो भएको खण्डमा भने राम्रो रिजल्ट आउन सक्छ ।’

तर, राष्ट्र बैंकका अधिकारीहरुले भने अलि कमजोर बैंकलाई बलिया बैंकले गाभिदिए हुन्थ्यो भन्ने सोचमा छन् ।

राष्ट्र बैंकले संख्या घटाउने उदेश्यले बैंकहरुलाई मर्जरमा जान नीतिगतरुपमा प्रोत्साहन र व्यवहारिकरुपमा दबाब दिइरहेको छ ।


पुष्प दुलाल