निजगढ विमानस्थलको विकल्प छैन- पर्यटनमन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढमा निर्माण हुने विमानस्थलको विकल्प नभएको बताएका छन् ।
सर्वोच्च अदालतले निजगढ विमानस्थलको काम तत्काल रोक्नका लागि अन्तरिम आदेश दिएको भोलिपल्ट मन्त्री भट्टराईले निजगढ विमानस्थलको विकल्प काठमाडौं, पोखरा र भैरहवाका विमानस्थल नहुने स्पष्ट पारे ।
‘पर्यटनको विकासका लागि निम्ती विमानस्थल पूर्वाधार निर्माण जरुरी छ त्यसैले निजगढ अत्यावश्क छ’ मन्त्री भट्टराईले भने ।
मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलले अब हवाई चाप धान्न नसक्ने भन्दै निजगढ विमानस्थल अत्यावश्यक रहेको दोहोर्यउँदै भने, ‘भैरहवा र पोखरामा विमानस्थल निर्माण हुँदैछन, ती विमानस्थलले काठमाडौंको चापलाई केही कम पक्कै गर्छ तर पर्याप्त हुँदैन, त्यसको विकल्प निजगढको विमानस्थलको मात्रै हो ।’
‘निजगढ विमानस्थल निर्माण गर्ने विषयमा सरकार लागीरहेको छ, निजगढमा आजदेखि काम शुरु भयो भने ५ वर्षमा विमानस्थलको काम पूरा हुन्छ’ पर्यटनमन्त्री भट्टराईले भने ।
कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले संघमा भ्रमण वर्षलाई सफल बनाउन संघका सहयोग रहने बताए । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले प्रवद्र्धनमा सहयोग गर्न सकिने सहयोग गर्ने बताइन् ।
पर्यटन सचिव केदारबहादुर अधिकारीले बैंक तथा वित्तीय संस्थाले शौचालय निर्माण, सरसफाइ जस्ता अभियानमा सहयोग गर्न आग्रह गरे । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन आग्रह गरे ।