बजेट खर्च बहसः अर्थमन्त्री खतिवडाको तर्कमा सांसद झाँक्रीको असहमति



काठमाडौं । अर्थसमितिको बैठकमा सांसद अर्थमन्त्री डा. युवराज खतिवडा र सांसद रामकुमारी झाँक्रीबीच दोहोरी चलेको छ ।

अर्थसमितिले चालु आर्थिक वर्षको पहिलो त्रैमासको बजेट कार्यान्वयनको विषयमा छलफल गर्न आयोजना गरेको बैठकमा मन्त्री डा. खतिवडाले बजेट कार्यान्वयनका बाधकमध्ये संक्रमणकाल पनि एक भएको भनेपछि सांसद झाँक्रीले मन्त्रीको भनाइमा अविश्वास जनाएकी छिन् ।

असल नियतले काम गर्दा कसैसँग तर्सिनु पर्दैनः अर्थमन्त्री खतिवडा

‘अर्थमन्त्रीज्यूले भनेको एउटा कुरामा संक्रमणकाल नै हो भन्ने कुरा कति मान्ने ? हाम्रो अरु मन्त्रालयभन्दा पनि अर्थमन्त्रालयसँग धेरै अपेक्षा छ । अर्थमन्त्रालयले नै लगाम लगाउनै पर्यो । अरुलाई भन्ने अर्थले हो त यो कुरा यो वर्ष पनि देखिएन,’ अर्थमन्त्रीलाई जवाफ फर्काउँदै झाँक्रीले भनिन् ।

बजेट खर्चको विषयमा गतवर्ष र अहिलेको अवस्था उस्तै रहेकोमा झाँक्रीले चिन्ता व्यक्त गरिन । अहिले सरकारले पनि पहिलो चौमासको समीक्षा भएको र सन्तोषजनक नपाएको देखिएको उनको भनाइ छ ।

‘सन्तोष भएन भनेर मन्त्रि पनि हेरफेर भइसकेको छ । सचिव पनि हेरफेर होला । अहिलको व्यक्ति फेर्ने कुरा हो कि विधि बनाउने हो,’ सांसद झाँक्रीले भनिन् ।

हरेक वर्ष एउटै विषयम मात्रै छलफल भएको उनको तर्क छ । कुनै पनि आयोजना तयार नभइ ठेक्का लगाएको कारण समस्या भएको, हस्तान्तरणमा समस्या देखिएको विषयमा गतवर्ष पनि छलफल भएको र योवर्ष पनि त्यही विषय दोहोरिएको उनको भनाइ छ ।

हरेर वर्ष एकैखालको समस्या देखाउनुको कुनै अर्थ नरहेको झाँक्रीको बुझाइ छ ।

कृषि, शिक्षा, स्वास्थ्य मन्त्रालय तथा पर्यटन वर्ष भएकाले पर्यटन मन्त्रालयसँग अनुदानको रकम छ । त्यहाँ वित्तीय अनुसाशन पालना भएको छ कि छैन ? त्यसले उत्पादनमा कस्तो असर पारेको छ ? यस्ता विषयमा छलफल नभएको भन्दै चिन्ता समेत जनाइन । यो अवस्थामा पनि कुनै प्रगति नभएको उनको तर्क छ ।

सार्वजनिक खरिद ऐनका कारण काम गर्न नसकेको भन्ने कुरा पहिलेदेखि नै सुनिदै आएको र ऐन ल्याउनुभन्दा पनि सरकारले महिनैपिच्छे नियमावली संशोधन गरेको प्रति चिन्ता जनाइन । अहिले ऐनको कारण हो वा आयोजना छान्ने विषयमा पनि ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

पहुँचको आधारमा आयोजना राख्दा समस्या हुने उनको बुझाइ छ । यस्तै अवस्था रहने हो भने वैशाख, जेठमा दैनिक ५०/६० करोड रुपैयाँ खर्च हुने अवस्था आउने उनको तर्क छ ।

उनले योजना आयोगले आयोजना बनाउने तर बजेट अर्कै तरिकाले आउने गर्दा समस्या भएको बताइन ।

उनले भनिन्, ‘आगामी वर्षबाट योजना आयोगको किताब एकातिर पढने र अर्कोतिर बजेट हुने खालको अवस्था नआओस् ।’


पुष्प दुलाल