सुरज बैद्य भन्छन्- श्रीमतिको फोन उठाउन पनि भ्याउँदिन



काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन अब ११ दिनमात्रै बाँकी छ । नेपाल भ्रमण वर्ष सचिवालयको राष्ट्रिय संयोजक रहेका व्यवसायी सुरज बैद्यलाई पत्रकारहरुको एउटा आरोप छ, ‘उनको फोन नै उठ्दैन, समाचार लेख्नै पाइँदैन ।’

यो कुरालाई स्वयं वैद्य पनि स्वीकार गर्छन् ।

बुधबार साँझ एउटा औपचारिक कार्यक्रममा भेटिएका वैद्यले भने, ‘म माफी चाहन्छु, तपाईहरुको फोनको उत्तर दिन सकिरहेको छैन, तपाईंहरुको मात्रै होइन श्रीमतिको फोन पनि उठाउन भ्याउँदिन ।’

हुन पनि भ्रमण वर्षको उद्घाटन सत्र नजिकिँदै गर्दा वैद्यको व्यस्तता बढ्नु स्वभाविक नै हो ।

तर सुरुवाती दिनदेखि भ्रमण वर्षबारे समाचार लेख्न खोज्ने पत्रकारका लागि भने उनको फोन नउठाउने बानी चित्त दुखाइको विषय बनिरहेको थियो । जसलाई वैद्य पत्रकारसँग भेटैपिच्छे आफ्नो स्वभाव यस्तै हो, फुर्सद हुँदैन भन्दै नम्र भाषामा माफी माग्छन् ।

कार्यक्रममा भाग लिन पुगेका वैद्यलाई पत्रकार घेरिहाले र सोधे, कस्तो छ तपाईको दैनिकी ?

‘म बिहान ५ बजे उठ्छु, साढे ५ बजेदेखि ६ बजेसम्म यसै विषयमा छलफल गर्छु, त्यसपछिको दैनिक मिटिङ, छलफलमै बढी व्यस्त भइन्छ त्यसैले फोन उठाउनै मिल्दैन, साँझपख र केही फुर्सदको समय ट्विटरबाट जानकारी तथा अपडेटहरु सेयर गरिरहेको हुन्छु’ वैद्यले भने ।

पत्रकारले फेरि प्रश्न तेर्स्याए- कस्तो हुँदैछ उद्घाटनको तयारी ?

बैद्यले भने, ‘अहिले नेपाल भ्रमण वर्ष उद्घाटनको तयारी अन्तिम तयारीमा पुगेको छ । १३औं सागको उद्घाटन कार्यक्रम निकै राम्रो भएकाले हाम्रा लागि बेञ्चमार्क भएकाले त्योभन्दा पनि राम्रो गर्नुपर्ने उनले जिम्मेवारी थपिएको छ ।’

उद्घाटन कार्यक्रम त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जनवरी १ मा दिउँसो साढे ३ बजेदेखि ३ घण्टासम्म हुनेछ । जसमा स्वदेशी र विदेशी पाहुनाहरुलाई सहभागी हुनेछन् ।

‘उद्घाटन कार्यक्रम भव्य बनाउनका लागि रंगशालामा ३ दिन अघिदेखि कार्यक्रमको तयारी हुनेछ, दैनिक १५ लाख रुपैयाँ भाडा तिर्नुपर्ने रंगशालामा उद्घाटन गर्दा २ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ,’ उनले थपे ।

उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । कार्यक्रममा नेपालको कला तथा सस्कृति झल्कने विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिनेछ ।

सरकारले उद्घाटन कार्यक्रममा ४० देशका पर्यटनमन्त्री ल्याउने बताएको थियो । जसमा हालसम्म छिमेकी मुलुकबाट पर्यटनमन्त्रीहरु आउने पक्का भइसकेको वैद्यले बताए । साथै, म्यानमार, कतार र इन्डोनेसियालगायतका अन्य ४ वटा मुलुकबाट पाहुना आउने आफूलाई जानकारी भएको उनले बताए ।

उद्घाटन कार्यक्रमको दृश्यलाई नेपाल टेलिभिजनबाट लाइभ गरिनेछ । साथै प्रदेशहरुमा सोही दिन प्रभातफेरिसँगै कार्यक्रम आयोजना गरिनेछ भने विदेशमा रहेका राजदूताबासले पनि भ्रमण वर्षको उद्घाटनको कार्यक्रम गर्ने र प्रचारप्रसार गर्ने काम गर्नेछन् ।

अहिलेसम्म भ्रमण वर्ष सफल बनाउन हान, नाटा, पाटा, ट्रेकिङ एसोसिएसनलगायतसँग सहकार्य गरिसकेको छ भने सचिवालयले नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि टर्किस एयरलाइन्ससँग समेत सहकार्यका लागि सम्झौता गर्ने भएको छ ।


पुष्प दुलाल