गफ र भाषणले सहकारी चल्दैन, संख्या घटाइन्छः मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीको गफ र भाषण गरेर मात्र नपुग्ने बताएकी छिन् ।
राष्ट्रिय सहकारी बैंकको आयोजना गरेको ‘को–अपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ मा मन्त्री अर्यालले यस्तो बताएकी हुन ।
उनले भनिन् ‘गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयक सहकारी आवश्यक छ, प्रक्रियागत ढङ्गले सहकारीको संख्या घटाइन्छ ।’
सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी गरी समाजबादको सारथी बन्न उनको आग्रह छ । देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरुले एकीकृत र व्यवसायिक ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा मन्त्री अर्यालले जोड दिइन । मन्त्री अर्यालले भनिन्, ‘पँँजीको निमार्ण बिना समाजबाद आउँदैन, त्यसैले सहकारीले पुँजी निमार्ण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ, तब समाजबादको रेखा कोरिन्छ र सहकारी कर्मीले समाजबादको अभियान्ता भन्न पाउनुहुन्छ ।’
मन्त्री अर्यालले आर्थिक समृद्धिलाई प्राथमिकताका राखेर सहकारीहरुले काम गर्नुपर्नेमा जोड दिएन । सरकारले सबै सहकारीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाउनेगरी आवश्यक कानूनको तर्जुमा गरिरहेको बताउँदै दिगो लक्ष्य हासिल गर्नका लागि बढी भन्दा बढी लगानी र व्यक्ति सहभागी भएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिइन ।
अबको दिशा समृद्धि र विकासकै दिशा भएको बताउदै सहकारी संस्थाहरु एकीकृत उत्पादनमा लाग्नुपर्ने उनको जोड थियो । राष्ट्रिय सहकारी बैंकलाई त्यस्तो क्षेत्रमा लगानी गर्न सुझाब दिइन ।
मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठूला स्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताइन । ‘सरकार सहकारीमा कानूनी बाधक बनेको पनि छैन र बन्दैन पनि, हामी फरक ढङ्गले सहकारीमार्फत विकासका काममा काम गर्ने अभियानमा छौ’, उनले भनिन् ।
मन्त्री अर्यालले सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेका बेला जमीनलाई फरक ढङ्गले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह गरिन ।