ट्रान्सपरेन्सी इन्टरनेशनलले सरकारलाई भन्यो- गोकर्ण रिसोर्टसँगको सम्झौता नविकरण तत्काल खारेज गर्नुपर्छ
काठमाडाैं । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाल सरकारलाई गोकर्ण रिसोर्टसँगको सम्झौता नविकरण खारेज गर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै इन्टरनेशनलले सरकारले नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको करिब ३ हजार रोपनी जग्गा पुरानो सम्झौता ६ वर्ष बाँकी रहँदै थप २५ वर्षका लागि लिजमा दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यसअघि २०८२ साउन मसान्तसम्म सम्झौता भएको र अझै ६ वर्ष बाँकी रहँदा अत्यन्त अपारदर्शी ढंगबाट हतारमा पुरानै यति होल्डिङ्स प्रालिलाई थप २५ वर्षका लागि लिजमा दिनुले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने सरकारको दाबी निरर्थक भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको भनाइ छ ।
उसले भनेको छ, ‘सार्वजनिक खरिद ऐनको ठाडो उल्लंघन गरी स्वस्थ्य प्रतिस्पर्धा बिना नेपाल ट्रष्ट स्थापना गर्दा मूल मर्मविपरीत कुनै एउटा व्यापारिक प्रतिष्ठानसँग गुपचुपमा सम्झौता गरी राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्ने कार्य कुनै पनि तर्कका आधारमा असल नियतले गरिएको निर्णय हो भनेर विश्वास गर्ने आधार देखिदैन । अर्को निर्वाचित सरकार आएपछि पनि कानुनसम्मत तरिकाले निर्णय गर्न सक्ने पर्याप्त समय बाँकी नै रहने अवस्थामा अपारदर्शी रुपमा हतार–हतार तत्कालै यस्तो निर्णय गर्नुमा निर्णयमा संलग्न पदाधिकारीहरुलाई गलत तत्वले अनुचित प्रभावमा पारेको स्पस्ट देखिन्छ ।’
‘म आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न’ भनी आमरुपमा प्रतिवद्धता ब्यक्त गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सम्पत्तिमा लुट मच्चिने खालको यस्तो निर्णय फिर्ता लिई यसमा संलग्न पदाधिकारीहरुलाई कानुन बमोजिम कडा कारवाही गरी मुलुकमा सरकारप्रतिको विश्वास कायमै राख्न र सुशासनको प्रत्याभुति दिन जोडदार माग गर्दछौ’ अध्यक्ष खेमराज रेग्मीले हस्तारक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।