वर्षौदेखि २५ हजार लाइसेन्स यातायातको कार्यालयमै अलपत्र !



काठमाडौं । सवारी चालक अनुमति के का लागि लिइन्छ ? सामान्य छ, सवारी चलाउनका लागि । तर यातायात व्यवस्था कार्यालय एकान्तकुनामा विगत १० वर्ष वा सो भन्दा पूराना सवारी चालक अनुमतिपत्र सम्बन्धित सवारी धनीले लिन नआएको पाइएको छ ।

सडक नियम उल्लंघन गरेको भनी ट्राफिक प्रहरीले कारवाही गरेका धेरै सवारी चालक लामो समयसम्म चालक अनुमतिपत्र बुझ्न नआएको पाइएको छ । यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अहिले १० वर्ष वा त्योभन्दा पहिलेदेखि रहेका चालक अनुमतिपत्र लिन सेवाग्राही नआएको पाइएको हो ।

लामो समयसम्म चालक अनुमतिपत्र लिन नआउँदा कार्यालयलाई त्यसको व्यवस्थापन गर्न कठिन भएको छ । ट्राफिक प्रहरी कार्यालयबाटै आएका झण्डै २५ हजार चालक अनुमतिपत्रका सम्बन्धित सवारी धनी वा चालकले लिन नआएका हुन् ।

ट्राफिक प्रहरीले सडक नियम उल्लंघन गरेको भनी चिट काटेका सवारी चालकलाई सोही वर्षभित्र सेवाग्राही जाँदा सम्बन्धित कार्यालयबाटै चालक अनुमतिपत्र दिन्छ । चिट काटेकै आवमा राजश्व बुझाउने र ट्राफिक नियमसम्बन्धी कक्षा लिएपछि चालक अनुमतिपत्र दिने गरेको छ ।

एक आवभरमा समेत चालक अनुमतिपत्र लिन नजाने चालकको भने अनुमतिपत्र यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ ।

काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्रका चार कार्यालय भए पनि ट्राफिक प्रहरीले भने कारवाही गरेका चालकको अनुमतिपत्र एकान्तकुना कार्यालयमा नै पठाउँदै आएको छ ।


क्लिकमान्डु