मुक्तिनाथ विकास बैंकबाट पनि १० लाख चोरी भएको पुष्टि, ६ बैंकका ग्राहकको नक्कली चेक बरामद



काठमाडौं । जनता बैंकबाट २० लाख रुपैयाँ चोरी गरेको समूहले मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ चोरेको पुष्टि भएको छ ।

महानगरिय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले अनुसन्धानका क्रममा मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ चोरी गरेको अनुसन्धानका क्रममा भेटिएको क्लिकमाण्डूलाई जानकारी दिए ।

‘अनुसन्धान गरिरहेका छौं, केही समय अगाडि १० लाख रुपैयाँ चारी भएको जानकारी प्राप्त भएको छ’ उनले भने ।

मुक्तिनाथ विकास बैंकले अनौपचारिक रुपमा अनुसन्धानको क्रममा रहेको प्रहरीलाई आफ्नो बैंकबाट समेत १० लाख रुपैयाँ चोरी भएको जानकारी गराएको थियो ।

पक्राउ परेकाबाट प्रहरीले प्रहरीले ४ वटा वाणिज्य बैंक र २ वटा विकास बैंक गरी ६ वटा बैंकका ग्राहकको नक्कली चेक समेत बरामत गरेको छ ।

प्रहरीले गिरोहसँग साथै, विभिन्न व्यक्तिहरुको फोटो ८२५ थान, विभिन्न व्यक्तिहरुको नाममा रकम उल्लेख गरी गरी हस्ताक्षर गरेको अवस्थाका विभिन्न बैंकबाट व्यक्तिका नाममा जारी भएका ३२९ थान चेक र अन्य बैंकसँग सम्बन्धित विभिन्न कागजपत्र अन्दाजी २ बोरा बरामत गरेको छ ।

प्रहरीले विभिन्न व्यक्तिका नाममा जारी भएको एनआईसी एसियाको काटिएको ६८ थान चेक र ८२ थान एटीएम बरामत गरेको छ भने अन्य बैंकको ७ वटा एटीएम बरामत गरेको छ ।

त्यस्तै, माछापुच्छ्रे बैंकको १७ थान नकाटिएको र २ थान काटिएको चेक, एभरेष्ट बैंकको २० थान नकाटिएको र ३ थान काटिएको चेक बरामत गरेको छ ।

साथै, जनता बैंकको ४१ थान काटिएको र १६ थान नकाटिएको चेक, ज्योति विकास बैंकको एक थान चेक, मुक्तिनाथ विकास बैंकको ४१ थान काटिएको र एकथान नकाटिएको चेक बरामत गरेको छ ।


क्लिकमान्डु