सुनसरी कप्तानगञ्ज गोली प्रकरण: ठाउँठाउँमा प्रदर्शन, कतै सद्भाव र्‍याली

56
Shares

विराटनगर । आइतबार राति सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा एक युवकको ज्यान गएपछि घटनाको सर्वत्र प्रदर्शन र विरोध भएको छ ।

सोमबारदेखि सुनसरी जिल्ला तनावग्रस्त बनेको छ । त्यसको बाछिटाले सोमबार आंशिक बन्द भएको विराटनगर बजार र शिक्षण संस्था मंगलबार पूर्ण रूपमा बन्द छ । घटनाको राप छिमेकी मधेश प्रदेशमा पनि पुगेको छ ।

घटनास्थल वरपर कायम रहेको कर्फ्युलाई सुनसरी प्रशासनले अनिश्चितकालसम्म पुर्‍याएको छ । विरोध र प्रदर्शन तीव्र बनेसँगै सुनसरी प्रशासनले मंगलबार अपराह्न साढे ३ बजेदेखि पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो । झडपका क्रममा २४ जना घाइते भएका थिए । त्यसमा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन् ।

घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २० वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भएका छन् । त्यसैगरी मिथलेस यादव, अमलेस मेहता, मिथलेस मेहता, अमितकुमार यादव, रविन्द्र मेहता, अर्का अमितकुमार यादव तथा सुनिलकुमार मेहताको विराटनगरस्थित न्यूरो अस्पताल र विराट अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीका सीमावर्ती देवानगञ्ज, कप्तानगञ्ज, घुस्की लगायतका क्षेत्रमा पटक–पटक यस्ता घटना घट्दै आएका छन् । तस्करीका लागि प्रख्याति कमाएका ती स्थानमा विगतमा तस्कर र प्रहरीबीच झडप हुँदा पनि जातीय रङ्ग दिने गरिएको थियो । त्यसबाहेक मुस्लिम र हिन्दुहरूको पर्वका बेला यो क्षेत्र सधैँ तनावग्रस्त बन्दै आएको थियो ।

आइतबार राति भएको देवानगञ्ज–३ कप्तानगञ्जको घटनाको मंगलबार देशभर विरोध भइरहेको छ । यसैक्रममा मंगलबार कोशी प्रदेशका विभिन्न जिल्ला र मधेश प्रदेशको सिरहा र सप्तरीसम्म आन्दोलन चर्किएको छ ।

घटनाको विरोधमा मंगलबार विराटनगर बजार बन्द गरेर प्रदर्शनकारीले प्रदर्शन गरेका छन् । सुनसरीको दुहबी बजारमा सर्वपक्षीय सद्भाव र्‍याली निकालिएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा सडकमा टायर बालेर प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । देवानगञ्ज, कप्तानगञ्ज र घुस्की क्षेत्रमा कर्फ्यु जारी भए पनि त्यहाँ प्रदर्शन रोकिएको छैन । घटनास्थलमा सोमबार नै सेना परिचालन गरिएको छ । सिरहा र सप्तरीमा पनि राजमार्ग बन्द गरी विरोध प्रदर्शन भइरहेको छ ।

विराटनगरमा आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोक लगायतका मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले व्यापारीहरूलाई पसल बन्द गराएका थिए ।

त्यसैगरी प्रदर्शनकारीहरूले मंगलबार सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरोधका कारण यातायात सेवा प्रभावित भएको छ । स्थिति थप तनावपूर्ण हुन नदिन स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ जाने सवारीसाधनलाई रोक लगाएको छ ।

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु लागू भएका क्षेत्रमा भेला, जुलुस, प्रदर्शन तथा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइए पनि प्रदर्शन रोकिएको छैन ।

देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएपछि उत्पन्न भएको तनावलाई लिएर गृह मन्त्रालयले कोशी प्रदेश प्रहरी प्रमुखसहित सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई सोमबार फिर्ता बोलाइसकेको छ ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालय फिर्ता बोलाएर संखुवासभाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाएको छ ।

त्यसैगरी कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा डीआईजी शेखर खनाललाई पठाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेबेलाई फिर्ता बोलाएर उनको ठाउँमा एसपी पुष्पराज मल्ललाई पठाएको छ । त्यसैगरी सशस्त्र प्रहरीको कप्तानगञ्ज ब्यूरोमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता गरेर डीएसपी मदन नाथलाई पठाइएको छ ।

त्यसैगरी घटनाको विस्तृत अध्ययन गरी एक सातामा प्रतिवेदन बुझाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । उक्त समितिले सुनसरी आएर स्थलगत अध्ययन सुरु गरिसकेको छ । समितिले विराटनगरका विभिन्न अस्पतालमा उपचार गराइरहेका घटनाका घाइतेसँग मंगलबार जानकारी बटुल्दै छ ।

प्रदर्शनकारीहरूले कप्तानगञ्ज गोलीकाण्डमा संलग्न दोषीमाथि निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गर्दै मृतकका परिवार र घाइतेले उचित न्याय नपाएसम्म आन्दोलन जारी रहने उद्घोष गरेका छन् ।

सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, गोली चलाउनेमाथि कारबाही तथा प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।

यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्ग, गोलबजारको गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ कसहा चोकमा विरोध प्रदर्शन भएको थियो ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको विरोधमा मंगलबार सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा प्रदर्शन र आन्दोलनका नाममा अराजक समूहले कोशी कटान क्षेत्रका व्यावसायिक पसलहरूमा आगजनी र तोडफोड गरेका छन् ।

एक्कासि आएको समूहले कोशी कटान बजारमा रहेका स्थानीय व्यवसायीहरू सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठ लगायतका पसलहरूलाई लक्षित गरी आगजनी एवं तोडफोड गरेको स्थानीयले बताएका छन् । त्यसपछि स्थानीय प्रशासनले पकलीदेखि कोशी ब्यारेजसम्मको महेन्द्र राजमार्गमा मंगलबार साढे ३ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लगाएको हो ।

त्यहाँको स्थिति नियन्त्रणमा लिन मंगलबार ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आगजनी र तोडफोडबाट व्यवसायीहरूको भौतिक सामग्री तथा पसलभित्र रहेका सामानहरू नष्ट भई ठूलो आर्थिक क्षति पुगेको सुरक्षा स्रोतले जनाएको छ ।

साउने सोमबारका लागि बोलबम यात्रामा निस्कन लागेको एउटा समूहले डीजे बजाएको विषयलाई लिएर आइतबार राति करिब ९ बजे कप्तानगञ्जमा दुई पक्षबीच विवाद सुरु भएको थियो । सामान्य भनाभनबाट सुरु भएको विवादले छोटो समयमै उग्र रूप लिँदा दुवै पक्षबाट लाठी, ढुङ्गा र भाला प्रहार भएको थियो । उत्तेजित भिडले स्थानीय घर, मेडिकल पसल र सवारीसाधनमा तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएपछि कप्तानगञ्ज बजार क्षेत्र युद्ध मैदान बनेको थियो ।

सुनसरीको कप्तानगञ्ज घटनापछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर डीजे बजाउन तथा प्रयोग गर्न अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा मंगलबार जारी गरिएको सूचना अनुसार जिल्लाभित्र हुने कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका कार्यक्रम तथा अन्य सार्वजनिक स्थानमा डीजेको प्रयोग गर्न नपाइने भएको छ ।