एक वर्षमा भित्रिए १२ लाखभन्दा बढी पर्यटक, भारतीयको हिस्सा सबैभन्दा बढी

0
Shares

काठमाडौं । नेपालमा एक वर्षको अवधीमा १२ लाख पर्यटकले भ्रमण गरेका छन्।

नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

पर्यटक आगमनको यो तथ्यांकले नेपाली पर्यटन उद्योगमा नयाँ उत्साह थपेको छ । कुल आगमनमध्ये छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी ३ लाख ११ हजार ५३१ जना पर्यटक आएका छन्, जुन कुल संख्याको २५.७६ प्रतिशत हो ।

भारतपछि नेपालका लागि प्रमुख स्रोत बजारका रूपमा अमेरिका र चीन देखिएका छन् । अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल भित्रिएका छन् ।

पर्यटक पठाउने मुलुकहरूको सूचीमा बंगलादेश ९५८,१६३० चौथो र बेलायत ९५६,६४९० पाँचौँ स्थानमा रहेका छन् । यसैगरी अष्ट्रेलिया, श्रीलंका, भुटान, म्यानमार, जर्मनी, थाइल्यान्ड, जापान र मलेसियाबाट पनि उल्लेख्य संख्यामा पर्यटकहरू नेपाल आएका छन् ।

तथ्यांकअनुसार नेपाल घुम्न आउने पर्यटकका लागि ‘कात्तिक’ महिना सबैभन्दा प्रिय देखिएको छ । सो महिनामा मात्रै १ लाख २४ हजार ८२९ पर्यटक नेपाल आएका थिए ।

त्यसैगरी चैत, फागुन र असोज महिनामा पनि पर्यटकको चाप उच्च रहेको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले भारत र चीनजस्ता नजिकका बजारमा केन्द्रित भई सञ्चालन गरेका प्रवर्द्धनात्मक कार्यक्रमको सकारात्मक प्रभाव देखिएको छ ।

गत आर्थिक वर्षमा भारतका पुणे, हैदरावाद, मुम्बई र नयाँ दिल्लीसहितका विभिन्न सहरमा १२ वटाभन्दा बढी र अन्तर्राष्ट्रिय बजारमा समग्रमा ४० वटाभन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो ।

विशेषगरी तराईका सीमा क्षेत्रमा आयोजित पर्यटन मार्ट र मेलाहरूका कारण स्थलमार्ग हुँदै आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले हवाई पहुँचको विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण पर्यटन क्षेत्रमा सकारात्मक नतिजा देखिएको बताएका छन् ।

‘हाम्रो पर्यटन उद्योग अब पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढेको छ,’ उनले भने, ‘चीन, अमेरिका र बंगलादेशजस्ता सम्भावना भएका बजारमा अब सेल्स मिसनलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ ।’

उनका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी क्षेत्रसँग मिलेर थप परिणाममुखी कार्यक्रमहरू ल्याइनेछ ।

सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ घोषणा गरिसकेकाले आगामी वर्षहरूमा पर्यटकको संख्या मात्र नभई उनीहरूको बसाइ अवधि र खर्च गर्ने क्षमता बढाउनेतर्फ बोर्डको ध्यान केन्द्रित हुने ऐरले जानकारी दिए ।

नेपालले अब परम्परागत बजारका साथै नयाँ गन्तव्यका पर्यटकलाई आकर्षित गरी नेपाललाई वर्षैभरि घुम्न मिल्ने पर्यटकीय गन्तव्यका रूपमा चिनाउने रणनीति लिएको छ ।